हेटौंडाबाट प्रदेश राजधानी सारेरै छाड्ने खेलमा मन्त्री स्थापित
–चन्द्र घलान
मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ मा भौतिक पुर्वाधार विकास मन्त्री बनेका मन्त्री केशव स्थापितलाई हठी स्वभावको नेताका रुपमा नेता, कार्यकर्ता र जनताले चिन्छन् । उनै स्थापितले हठ नगरेका भए काठमाडौँमा घर भत्काएर सडक निर्माण हुने थिएन । तिनै स्थापितले हेटौँडामा २५ मिटर सडक फराकिलो पार्छन् भन्ने कुराले व्यवसायीहरु त्रसित छन् । साथै मन्त्री स्थापितकै चलखेलले हेटौँडाबाट प्रदेश राजधानी खोसिने कुरा लगभग तय भएको छ ।
त्यसो त जानकारहरु प्रदेश राजधानी सर्नुमा स्थापितको मात्र हठ नभई प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदेश राजधानी र मुख्यमन्त्री मध्ये एकलाई छान्न बाध्य पार्ने गरेको प्रसङ्ग पनि प्रदेश राजधानी सर्नुको अर्को कारण हो । राजनीतिक विश्लेषकहरुका अनुसार सिधै पदसँग राजधानी सार्न खोजेको भन्न नमिले पनि मुख्यमन्त्री पौडेलले मुख्यमन्त्री नछोड्ने लगभग तय भएको कुरा हो । साथै पार्टीमा टिकीरहन र ओली पक्षधर बनिरहन पनि मुख्यमन्त्री पौडेलले राजधानी छोडेर पद लिनुपर्ने बाध्यता देखिएको छ ।
प्रदेशको अस्थायी राजधानी हेटौँडा तोकिएको बेलै विरोधमा उत्रिएका मन्त्री स्थापितलाइृ अहिले एमालेकै अर्का नेता राजेन्द्रप्रसाद पाण्डेले साथ दिएका छन् । साथै धेरे जसो नेताहरु पनि हेटौँडा पायक स्थान नभएको भन्दै कुर्लिने गरेका छन् ।
यसै क्रममा केही समयमासम्म चुप बसेका मन्त्री स्थापितले एक देखि डेढ महिनाभित्र हेटौडाबाट प्रदेश राजधानी सारेरै छाड्ने भन्दै सार्वजनिक समारोहमै बोल्दै हिँड्न थालेका छन् । साथै पाण्डेले समेत मुख्यमन्त्रीलाई आफ्नो अधिकार विपरित गएको र हेटौँडाको प्रदेशसभा सचिवालयलाई कक्षाकोठाको संज्ञा दिँदै हेटौँडाबाट राजधानी सार्ने चलखेल शुरु गरेका छन् ।
मन्त्री स्थापितले मन्थलीमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना गरेको लदी पूजा कार्यक्रममा हेटौडा कसैलाई पायक नपर्ने र पायक नपर्ने ठाउँमा राजधानी राख्न नुहुने बताएका छन् । आफुले प्रदेश ३ को राजधानी जसरी भएपनि सार्ने र काठमाडौँ उपत्यका आसपास सार्ने अठोट गरिसकेको दाबी गरेका छन् ।
