आलिताल र परशुरामको आम्दानीको प्रमुख स्रोत दूध

तु खबर संवाददाता
२०७४ फाल्गुन १५, मंगलवार १४:३४
File Photo

डडेल्धुरा, १५ फागुन । परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।

कृषकले उन्नत जातका गाईभैँसी पाल्न थालेपछि परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको हो ।

कृषकले पछिल्लो समय दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । उत्पादन भएको दूध चिस्यान गरी सदरमुकाम र कैलालीका विभिन्न बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । व्यावसायिक रुपमा गाईपालन गरी दूध बेचेर पर्याप्त आम्दानी गरिरहेको आलिताल गाउँपालिका कृषक पार्वती मडैले बताउनुभयो ।

उहाँले दैनिक २५ देखि ३० लिटर दूध बिक्रि गर्दैआउनुभएको छ । मडैले १२ वटा गाई पाल्नुभएको छ । विभिन्न संघ संस्थाले व्यावसायिक रुपमा गाई–भँैसी पालनबारे अभिमुखिकरण तालिम दिने गरेका छन् । गाउँमै दुग्ध संकलन केन्द्र र चिस्यान घर सञ्चालनमा आएपछि कृषकलाई सहज भएको आलिताल गाउँपालिका–४ का कमलसिंह ऐडीले बताउनुभयो ।

“संकलन केन्द्र सञ्चालनमा आएसँगै स्थानीयवासी व्यावसायिक रुपमा गाईपालनतर्फ आकर्षित भएका छन्,” उहाँले भन्नुभयो । ऐडीले दैनिक करिब दुई हजार लिटर दूध कैलालीको खप्तड डेरीलाई बिक्री गर्दैआउनुभएको छ । आलिताल गाउँपालिकामा दुईवटा दुग्ध संकलन केन्द्र र चिस्यान घर रहेको छ । परशुराम नगरपालिकाले पनि गाउँगाउँबाट दूध संकलन गरिरहेको छ ।

पछिल्लो समयमा दूध खपत नहुँदा कृषक निराश भएका छन् । उन्नत् जातका जर्सी गाईपालन गरी कृषकले दूध बिक्रीबाट दैनिक रु पाँच सयदेखि रु एक हजार पाँच सय आम्दानी गरिरहेका छन् । आलिताल–३ का कृषक तारादेवी मडै मासिक दूध बिक्रीबाट रु ३० हजारदेखि रु ४० हजारसम्म बचत गर्ने गरेको बताउनुहुन्छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*