होलीको अवसरमा विशेष सुरक्षा योजना

तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार १५:११
file

चितवन, १४ फागुन । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलगायतका कार्य रोक्न विशेष सुरक्षा योजना ल्याएको हो ।

होली पर्व सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन र अनियन्त्रित कार्य गर्नेलाई नियन्त्रणमा लिन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो ।

मादक पदार्थ सेवन गरेर हिँड्ने, जथाभावी सवारी साधन चलाउने, सामाजिक सद्भाव र मेलमिलाप भड्काउने गतिविधि गर्ने, साम्प्रदायिक सहिष्णुताविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न चारवटा रणनीति अपनाइएको उक्त कार्यालयले छ ।

होलीको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै नियमित प्रहरी परिचालनबाहेक महानगरको बजार क्षेत्रमा २४ स्थानमा विशेष सुृरक्षा सेवा राखिने मातहतसहित १० वटा गस्ती टोली परिचालन गरिने, ११ स्थानमा ट्राफिकसहितको विशेष जाँच गरिने र सूचना संकलनका लागि सादा पोशाकका प्रहरीलाई बजार क्षेत्रमा परिचालन गरिने छ ।

अघिल्ला वर्ष होली पर्वमा मादक पदार्थ सेवन गरेर उच्छृङ्खल गतिविधि गर्नेलाई सम्झाई–बुझाई पठाइने गरेको भए पनि यस वर्ष पक्राउ गरी केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिने भएको छ ।

यसवर्षको होली यही फागुन १७ गते पहाडमा र १८ गते तराईमा मनाइने छ । चितवनमा भने दुवै दिन मनाउने गरिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*