हामीमाथि प्रहरीले दुर्व्यवहार गर्यो–स्थानीय, बाटो छेकेपछि सामान्य छलफलमात्र भएको हो –एसपी
मकवानपुर, १३ फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीलाई विभिन्न माग राखी बन्द गर्दै आएको मजुवा संघर्ष समितिका सचिव इन्द्रजीत देवकोटाले प्रहरीले बिनाकारण आफुहरुलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् । आईतबार मजुवा नजिकैको गाउँमा एसपी विकासराज खनालको कमाण्डमा आएका प्रहरीको टोलीले गाउँमा आइपुग्ने बित्तिकै ‘सबैलाई समातेर भ्यानमा हाल’ भन्दै दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।
सचिव देवकोटाका अनुसार आईतबार सो क्षेत्रमा पुगेका प्रहरी टोलीले महिलाहरुलाई दुर्व्यवहार गरेका छन् । प्रहरी आएको भन्दै हेर्न सडकमा निस्किएका गाउँलेलाई प्रहरीले लछारपछार गरेको आरोप उनले लगाए । प्रहरीले अपशब्द प्रयोग गर्दै लछारपछार गर्दा केही महिला घाईते समेत भएको उनले दाबी गरे । उनका अनुसार प्रहरीले लछारपछार गर्दा युवाकुमारी देवकोटाको हात मर्किनुकासाथै स्थानीय गौरी फुयाँल, गोमा फुयाँल र तिलरुपा फुयाँल घाईते भएका छन् । स्थानीय प्रशासन, ठेकेदार र प्रहरीको मिलोमतोमा आएका गुण्डाहरुले आफुहरुलाई तर्साएको देवकोटाले आरोप लगाएका छन् । आफुहरुले ११ बुँदे माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा पनि आफुहरुको खेदो खनेको उनले बताए ।
‘बिना कारण बाटो रोकेपछि सामान्य छलफल भएको हो’–एसपी खनाल
संघर्ष समितिका देवकोटाले आरोप लगाएको कुरालाई लिएर तु खबरले मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालसँग प्रतिकृया लिँदा उनले यो सबै आरोप भएको बताएका छन् । सुरक्षा गस्तिका लागि त्यहाँ पुगेको प्रहरीलाई समेत बाटो रोकेपछि सामान्य छलफल भएको उनले बताए ।‘ हामीलाई सिमेन्टको खानीसँग केही मतलब थिएन, हामी आफ्नै सुरक्षा गस्तिका लागि त्यहाँ पुगेका थियौँ तर उहाँहरुले बिनाकारण हाम्रो बाटो रोक्नुभयो’ उनले भने, ‘उहाँहरुले बाटो रोकेपछि सामान्य छलफल मात्र भएको हो, त्यस्तो अभद्र व्यवहार प्रहरीबाट भएको छैन ।’
एसपी खनालले स्थानीयको आरोपको खण्डन गर्दै त्यस्तो केही नभएको बताए । आफुहरु खानीको सामान्य अनुगमन गस्तीमा त्यहाँ पुगेको एसपी खनालको दाबी छ । बिना कारण आफुहरुलाई आरोप लगाइएको भन्दै उनले त्यसको खण्डन गरेका छन् ।
संघर्ष समितिको आन्दोलनका कारण मजुवा खानीबाट कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् गर्ने काम हालसम्म पनि संचालनमा आउन सकेको छैन । जसका कारण कानुन अनुसार हेटौंडा सिमेन्ट उद्योगबाट अनुमति पाएको ठेकेदार कम्पनी दैनिक ३ लाख सम्म घाटा व्यहोर्न बाध्य भएको बताइएको छ । खानी क्षेत्रमा महिनौंदेखि उत्खननका औजारहरु समेत अलपत्र अवस्थामा रहेका छन् ।
हेटौंडा सिमेन्ट उद्योगकै कारण मजुवा खानी संचालनमा अवरोध आएको गुनासो ठेकेदार कम्पनीको छ । हेटौंडा सिमेन्टले प्राईभेट उद्योगसंग पैसा लिएर सरकारी उद्योगलाई धरासायी पार्ने रणनीति सिमेन्ट उद्योगले लिएको कारण खानी संचालनमा आउन नसकेको समेत ठेकेदार कम्पनीको गुनासो छ ।
खानी संचालनमा मकवानपुरका स्थानीयहरुले अवरोध गरेका हुन भन्दै ब्याकमा बसेर गाँउपालिकाका अध्यक्ष विदुर हमागाईले नै खानी संचालनमा अवरोध गरेको समेत ठेकेदार कम्पनीको आरोप छ ।
यता हेटौंडा सिमेन्ट उद्योगका जि.एम. प्रेमशंकर सिँहले भने गाँउपालिकाले नकारात्मक सन्देश स्थानीयमा पैदा गरेको कारण जुनसुकै अवस्थामा पनि खानी संचालनमा ल्याउन नदिने अडानमा स्थानीय रहेको भनाई छ । स्थानीयको माग पुरा गर्ने तयारी गर्दा समेत गाउँपालिकाका अध्यक्षको व्यक्तिगत स्वार्थका कारण अध्यक्षकै पहलमा खानी संचालनमा ल्याउन नदिइएको उनले आरोप लगाएका छन् ।
गाउँपालिकाले हेटौँडा सिमेन्ट उद्योग संवेदनशिल नभएको भन्दै खानी संचालनमा स्थानीयले अवरोध गरेको बताउँदै आएको छ भने सिमेन्ट उद्योगले आफुहरु स्थानीयको माग पुरा गर्न तयार रहेको तर गाउँपालिकाको अध्यक्षको स्वार्थको कारण रोकिएको आरोप लगाउने गरिरहेका छन् । दुवैले एक अर्कामा आरोप प्रत्यारोप लगाउने तर खानीको बिषयमा संवेदनशिल भने नभएको कारण खानी संचालन हुन नसकेर अलपत्र परेको छ ।
