दशवर्षे गुरुयोजनासहित रामघाटलाई विकास गरिँदै
रामपुर, पाल्पा, १३ फागुन । यहाँको प्रख्यात मानिँदै आएको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रामघाटको विकासमा दशवर्षे गुरुयोजनासहित भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ ।
कालीगण्डकीको किनारमा अवस्थित रामपुर नगरपालिका–५मा रहेको यस रामघाट क्षेत्रको पौराणिक मान्यता जोगाई राख्न अहिले रामघाट संरक्षण समितिले दशवर्षे गुरुयोजना बनाएर धार्मिक तीर्थस्थल निर्माण कार्य शुरु गरिरहेको हो ।
रामघाटमा विसं १८८९ मा स्थापना गरिएको पुरानो लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार, दुई कोठे धर्मशाला, तीन कोठे पुजारी बसोबास गर्ने घर, मन्दिर प्रवेशद्वार, खानेपानी ट्याङ्की, सत्तल पुनःनिर्माण, चौतारी निर्माण, चारैतिर कम्पाउण्ड, फूलबारी निर्माण गरिएको लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ । मन्दिरको वातावरणलाई सौहार्द्र र हराभरा बनाउनका लागि विभिन्न जातका करिब १०० फलफूलका बिरुवासमेत लगाइएको छ ।
दशवर्षे गुरुयोजनाअनुसार अबको १० वर्षभित्रमा यहाँ ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना, किरियाघर निर्माण, एक हजार आठ शालिग्राम जडित पानीको फोहोरासहितको शान्तिबाटिका निर्माण, रामपुरको बेझाड बजारदेखि रामघाट क्षेत्रसम्मको सडक स्तरोन्नतिलगायतका काम सम्पन्न गर्ने गरी समिति अगाडि बढिरहेको उहाँ जानकारी दिनुहुन्छ ।
दशवर्षे गुरुयोजनाअनुसार काम सम्पन्न भएपछि रामघाट क्षेत्रको दर्शन र अवलोकनका निम्ति दैनिक २०० भन्दा बढी पर्यटक भित्र्याउने समितिको लक्ष्य छ । नेपालकै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग यो क्षेत्र जोडिएकाले पनि यहाँ भविष्यमा पर्यटकको ओइरो लाग्ने अनुमान गरिएको छ ।
पौराणिक किंवदन्तीअनुसार त्रेतायुगमा भगवान् राम वनवास जाँदा कालीगण्डकीको यस रामघाट क्षेत्रमा आएर बसोबास गरेको र उनले दैनिक यही घाटमा स्नान गरेको हुँदा यस घाटको नाम रामघाट हुन गएको हो । तत्कालीन समयमा यसै स्थानमा ऋषिमुनिले यज्ञ गरेको धार्मिक किंवदन्ती पनि छ ।
विसं १८७० को समयतिर सोही स्थानमा बसोबास गर्नुभएका स्थानीयवासी तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न दर्शन दिएपछि विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको हो । सो मन्दिर स्थापनाकालदेखि नै हालसम्म रेग्मी परिवारको निगरानीमा नियमित मन्दिरमा पूजाआजा हँुदै आएको छ ।
मन्दिरको स्वामित्वमा दर्ता भएको एक हजार १०० रोपनी र दर्ता नभएको एक हजार रोपनी जग्गा छ । यही जग्गालाई राम्रोसँग भोगचलन गर्न सकियो भने पनि मन्दिर सञ्चालनमा कुनै समस्या छैन ।
प्रशस्त जग्गा रहेकाले यसको दशवर्षे गुरुयोजना साकार पार्न सकिने लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका सदस्य गुरुप्रसाद रेग्मीको भनाइ छ । मन्दिरको जग्गा भोगचलन गर्दै आइरहेका मोहीहरुले उब्जनीको केही आयस्ता नबुझाउँदा पनि यसले समयमा नै फड्को मार्न नसकेको रेग्मी बताउनुहुन्छ ।
“अब मोहीहरुबाट नियमित आयस्ता उठाउने, नगरपालिका र विभिन्न संघसंस्थासँग सहयोग जुटाएर तोकिएको समयमा गुरुयोजना साकार पार्ने कोशिसमा समिति लागिपरिरहेको छ”, उहाँ भन्नुहुन्छ । यस क्षेत्रलाई रामपुर नगरपालिकाले पनि १० उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत गरेको छ ।
परम्परागत उपकरण लोप
विजुलीको पहुँचसंगै कुटानी पिसानीका लागि आधुनिक उपकरणको प्रयोगसंगै परम्परागत उपकरण लोप हुन थालेका छन् ।
दैनिक जीवनयापनका लागि काठबाट बनेका धान कुट्ने ढिँकी, मकै, कोदो, फापर पिस्ने जाँतो, उखु, तोरी, अमिलो पेल्ने कोल आधुनिक प्रविधिको प्रयोग र विस्तारले गाउँघरबाटै लोप हुन पुगेको हो ।
आधुनिक उपकरणबाट छिटो छरितो र सस्तो मूल्यमा कुटानी पिसानी हुने भएपछि घर घरमा रहेका ढिँकी, जाँतो, कोल हटाउन थालिएको स्थानीयवासी बताउँछन् ।
बिगतमा ढिँकी र जाँतो नभएको कुनै पनि घर खाली हुँदैनथ्यो । सबैका घर घरमा ढिँकी र जाँतोको प्रयोग गरिन्थ्यो । दिनभर मेलापात तथा साँझ बिहानको घरायसी कामधन्दा सकाएर रात परेपछि ढिँकीमा धान कुट्ने, जाँतोमा मकै, कोदो पिसेर छोराछोरी, परिवारको पेट पाल्नुपर्ने बाध्यता अब हटदै गएको स्थानीय सीता अर्याल जानकारी दिनुहुन्छ ।
“ढिँकी जाँतो नचलाएको दिन हुन्नथ्यो, गाउँभरि बिहान ३, ४ बजेदेखि नै ढिँकी, जाँतो चलाएको आवाजले गाउँ नै गुञ्जायमान हुन्थ्यो, अहिले त गाउँमा ढिँकी, जाँतो देख्न नि मुस्किल परिसकेको छ”, उहाँ भन्नुहुन्छ, “अबका पुस्तालाई ढिकी र जाँतोबारे ज्ञान दिलाउन र देखाउनकै लागि पनि मैले जोगाएर राखेको छु । ”
ढिँकी र आधुनिक मिलमा कुटेको चामलमा धेरै भिन्नता रहेको ८० वर्षीय चूडामणि न्यौपाने बताउनुुहुन्छ । “ढिँकीमा कुटेको धानको चामल स्वादिलो र पौष्टिक हुने हुँदा स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ, अहिले त मिलमा कुटेको धानको चामलमा स्वाद नै छैन”, उहाँ भन्नुहुन्छ, “काम छिटो सजिलो हो तर मानिसको स्वास्थ्यका लागि त घरमै ढिँकीमा कुटेको धानको चामल नै उत्तम रहेको बूढापाकाको भनाइ छ ।”
त्यस्तै खुदो, अमिलो, कागती, तोरी पेल्ने परम्परागत कोल पनि एउटा गाउँमा प्रायःजसो दुई तीन वटा हुन्थ्यो । अहिले यस्ता उपकरण देख्न पनि मुस्किल छ । कतिपय ठाउँमा उखेलेर फ्याँकिएको छ भने कतिपय ठाउँमा कोल गाडेकै स्थानमा त्यत्तिकै कुहेर गएको छ जिल्लाका निकै विकट र दुर्गम गाउँमा भने अझै पनि यदाकदा यस्ता उपकरण भेटिन्छन् ।
हिजोआज भने धान कुट्ने ढिँकी, मकै, कोदो, फापर पिस्ने जाँतो, उखु, तोरी, अमिलो पेल्ने कोल लोप हँुदै जान थालेपछि विभिन्न मेला महोत्सव र सङ्ग्रहालयमा प्रदर्शनीका लागि यस्ता उपकरण राख्न थालिएको छ ।
जिल्लामै दैनिक २०० लिटर दूध बिक्री गर्ने रिजाल
तानसेन नगरपालिका मदनपोखराका सुकदेव रिजाल हाल दैनिक २०० लिटर दूध बजारमा बिक्री गर्नुहुन्छ । उहाँ जिल्लामै दैनिक २०० लिटर दूध बिक्री गर्ने पहिलो कृषक हुनुुहुन्छ ।
दैनिक दूध बिक्रीबाट रु १० हजार बराबरको आम्दानी गर्नुहने रिजालले खर्च कटाएर मासिक रु एक लाखभन्दा बढी रकम बचत गरेको बताउनुहुन्छ ।
“दानापानी घाँसपात सबै खर्च कटाएर रु एक लाखभन्दा बढी रकम बचाउन सफल भएको छु, दूध बिक्रीबाट प्राप्त रकम गाईफार्मसँगै कम्पोष्ट मल उत्पादनमा लगानी गर्दै गएको छु”, उहाँको भनाइ छ ।
जिल्लामै ठूलो लगानीमा गाईफार्म चलाउने रिजाल एकमात्र व्यवसायी हुनुहुन्छ । उहाँको व्यवसायमा अहिलेसम्म रु एक करोड बराबरको लगानी परेको छ । दुग्ध उत्पादक कृषक संघ पाल्पाका अध्यक्षसमेत रहनुभएका रिजालको फार्ममा अहिले ६५ वटा गाई छन् ।
विगत छ वर्षदेखि गाईपालन व्यवसायलाई निरन्तर रुपमा अगाडि बढाउँदै आउनुभएका उहाँ दूधमा आत्मनिर्भर बनाउने सोचका साथ यस व्यवसायमा लागेको बताउनुहुन्छ ।
“युवाको आकर्षण विदेशमा गएर पैसा कमाउने मात्र छ, विदेश जान लाग्ने लगानी कृषिमा ग¥यो भने त यही दोब्बर आम्दानी लिन सकिन्छ” उहाँ भन्नुहुन्छ । रासस
