कोलकातामा ‘पानीघट्ट’

तु खबर संवाददाता
२०७४ फाल्गुन १३, आईतवार १३:५७

काठमाडौँ, १३ फागुन । लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ ।
पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताएका छन् । कोलकाताको नागेरबजारस्थित अजितेश मञ्चमा आयोजित अन्तराष्ट्रिय नाटक उत्सवमा मञ्चित नाटक हेर्न प्रवासी नेपाली तथा गैरनेपालीको भीडभाड थियो । नाट्य युद्धले चौथो शम्भु मित्र एन्ड बिजन भट्टचर्जी स्मृति नाट्य उत्सव आयोजना गरेको हो । यही फागुन ११–१३ सम्म हिन्दी, बंगाली, नेपालीसहित ११ नाटक मञ्चन गरिएको थियो ।

‘पानीघट्ट’ नाटक हेर्न आमा रमितासिंहसंँगै आएकी छोरी सन्तोषीले नेपाली संस्कृति हेर्दा निकै खुशी लागेको बताइन् । लमजुङकी लीला गुरुङले परदेशमा आफ्नो संस्कृति देख्न पाउदा गाउमै भएको अनुभूति लिइन् । संयुक्त नेपाली केन्द्रीय सेवा संघका अध्यक्ष नरविक्रम थापा, भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष राजु पाठक, नेपाल पारवाहन तथा गोदाम कं लिमिटेडका विशेष अधिकृत लक्ष्मण खड्का, समाजसेवी रामप्रसाद बराललगायतले प्रवासी नेपाली समुदायबाट नेपाली कलासंस्कृति लोप हुदै गएको अवस्थामा यसलाई जोगाउनुपर्छ भन्ने पाठ ‘पानीघट्ट’बाट अवगत भएको बताए ।
सवा एक घण्टाको ‘पानीघट्ट’ मा वैदेशिक रोजगारी र यसपछिका समस्या, बसाइसराइ र युवाशक्ति पलायन हुदा गाउमा देखिने सामाजिक तथा सांस्कृतिक समस्यालगायत उजागर गरिएको छ ।
कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले नाटकले नेपाली संस्कृतिको यथार्थ चित्रण गरेको बताउँदै नेपाली कलासंस्कृति बचाउन महावाणिज्यदूतावास लागिपरेको स्पष्ट गर्नुभयो । गायिका सुजाता वर्माले नाटक हेरेपछि नेपाली संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने धारणा सबैमा पलाएको बताउनुभयो ।
नाटकका लेखक÷निर्देशक पुरु लम्सालले मुलुकभित्रकै नाटकघरमा मात्रै नेपाली नाटक मञ्चन भइरहेका अवस्थामा प्रवासमा गएर पनि सांस्कृतिक तथा सामाजिक सचेतना जगाउनुपर्छ भन्ने मान्यता रहेको बताउँदै अघिल्लो पुस्ताको वास्तविकता र अहिलेको यथार्थलाई समिश्रण गरी नाटक निर्माण गरिएको जानकारी दिनुभयो ।

भारतीय मञ्चमा कलाकार विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, केदार बोहोरा, शान्ति श्रेष्ठ, नरमाया तामाङ, हिमाल मजाकोटी, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, विमला मिजार, सञ्जोग लामिछाने र बालकलाकार विप्लव बोहोराले अभिनय प्रस्तुत गरेका थिए । उहाँहरुलाई कोलकाताका कलाकार आशा बराल र नेहा धमलाले साथ दिनुभएको थियो ।

नाटकलाई कोलकताको अन्तराष्ट्रिय नाटक उत्सवसम्म लानका लागि संयोजन गर्नुभएका त्रिविका प्रा डा अशोक थापाले नेपाली नाटकका माध्यमबाट प्रवासी नेपालीलाई आफ्नो संस्कृति र यथार्थ देखाउन कोलकातासम्म नाटक ल्याइएको जानकारी दिनुभयो । संस्कृतिकर्मी जयराम तिमिल्सिनाले समाजलाई नाटकका माध्यमबाट घच्घच्याउन र ब्यताउन सकिने भएकाले नेपाली नाटकको व्यापकताको अझै खा“चो रहेको बताउनुभयो ।
नाटककार लम्सालले २०६४ सालमा लेखेको पानीघट्टको कथालाई रंगमञ्चमा प्रस्तुत गरिएको हो । लमजुङमा गत माघ १८ देखि २० गतेसम्म मञ्चन गरिएको नाटक ‘पानीघट्ट’ र गत वर्ष प्रदर्शन गरिएको नाटक ‘फड्के’ लाई नाटककार लम्सालले पुस्तकमा समेत उतार्नुभएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*