दुई साता बित्दा पनि विद्यार्थीको हातमा परेन पुस्तक

तु खबर संवाददाता
२०७४ फाल्गुन १३, आईतवार ०९:३३

दुनै, डोल्पा, १३ फागुन  डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पु¥याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ ।

सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको कालिका र नर्कूमा पुगेर आइतबारदेखि वितरण गरिने स्थानीय एजेन्ट लंकबहादुर रोकायाले जानकारी दिनुभयो । त्यसैगरी दुनै र फोक्सुण्डोको जिम्मा लिएका विष्णुलाल बुढाले पनि दुनैसम्म किताब पु¥याएका छन् । अर्का स्थानीय बिक्रेता पूर्णप्रसाद न्यौपानेले आजबाटै किताब वितरण हुने बताए ।

जिल्लाका विभिन्न क्षेत्रका लागि सातवटा स्थानीय एजेन्टले ढुवानी गर्ने भए पनि कति जनाले विद्यार्थीको हातमा पारे भन्ने कुनै जानकारी नदिएको तर कार्यालय निरन्तर पहलमा लागिरहेको निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डांगीले बताउनुभयो ।

शैक्षिक सत्र ०७५ का लागि डोल्पा जिल्लामा नौ हजार ७९१ थान किताब स्थानीय एजेन्टले ढुवानी गर्नुपर्ने छ । जनक शिक्षा सामग्री र निजी क्षेत्रले डोल्पा जिल्लाका कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि किताब वितरण गर्ने जिम्मा लिएको जनक शिक्षा सामग्री क्षेत्रीय प्रमुख रवीन्द्र शर्माले बताउनुभयो ।

कक्षा १ देखि ५ सम्म निजी क्षेत्रले र कक्षा ६ देखि १० सम्म जनक शिक्षा सामग्री आफँैले जिल्लामा किताब वितरण गर्ने जिम्मा लिएको छ । यस वर्ष डोल्पा जिल्लामा कक्षा १ देखि ५ सम्म ६ हजार १४६, कक्षा ६ देखि ८ सम्म दुई हजार २१६, त्यसैगरी कक्षा ९ देखि १० सम्म एक हजार ४२९ गरी जम्मा नौ हजार ७९१ थान किताब जिल्लाका विद्यालयमा ल्याउनुपर्ने हुन्छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*