तामाङ संस्कृति क्रिश्चियनीकरण, हिन्दुकरण र तिब्बतीकरणको मारमा
हेटौँडा, १३ फागुन । नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले मौलिक तामाङ संस्कृति हाल बाह्य संस्कृतिको मारमा परिरहेको बताएको छन् ।
२८५४ औं सोनाम ल्होछार खी ल्होको अवसर पारेर शनिबार हेटौंडा–१५ रातोमाटेमा भएको भव्य ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै घलानले तामाङ संस्कृति वर्तमान सन्दर्भमा मूलतः तीनवटा संस्कृतिहरु क्रिश्चियनीकरण, हिन्दुकरण र तिब्बतीकरणको मारमा परेको बताए । ‘यी तीन फरक फरक संस्कृतिको चेपुवामा पर्दा मौलिक तामाङ संस्कृतिमा विचलन बढ्दै गएको छ’ उनले भने ।
तस्बिरहरु–नवराज वाईबा
कार्यक्रममा एक अर्कामा शुभकामना आदानप्रदान गर्दै खेन्पो तेञ्जीन लामाबाट वाङ अभिषेक प्रदान, प्रवचन तथा नयाँ वर्षमा सबैलाई शुभ रहोस् भनी ग्रह, दशा मन्साउने कार्य गरिएको थियो ।
त्यस्तै राष्ट्रिय कलाकारहरु छेवाङ तेञ्जीन लामा, विशाल योञ्जन, रोश्ना चाम्लिङ, स्थानिय कलाकारहरु अनराज मोक्तान, सक रुम्बा लगायतले आफ्ना साङ्गीतिक प्रस्तुतीहरुबाट सहभागीहरुलाई कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए ।
खेन्पो तेञ्जीन लामाको प्रमुख आतिथ्यतामा भएको ल्होछार विशेष कार्यक्रम ल्होछार मूल समारोह समिति रातोमाटेका संयोजक गणेश ब्लोनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नगर कार्यपालिका सदस्य पातालीमाया गोङबा, १५ नम्वर वडाध्यक्ष महारत्न लामा, स्थानिय गुम्बाका लामाहरु, स्थानिय सामुदायिक वनका प्रतिनीधिहरु, गुम्बा मणिपा समितिका पदाधिकारीहरु तथा स्थानिय संघ संस्थाका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।
