सर्लाही जादै गरेका यात्रु सवार इभी भिमफेदीमा दुर्घट्नाग्रस्त, १० जनाको निधन
काठमाडौंबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेका यात्रुहरु लिएर सवार एक इभी माइक्रो बस आज विहानै मकवानपुर जिल्लाको भिमफेदी नजिकै दुर्घटनाग्रस्त हुँदा १० जनाको निधन भएको छ । घटनामा घाइते भएका तीन जनाको हेटौडास्थित अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव रहेका छन् ।
काठमाडौंको बल्खुबाट विहान करिब ५ः०० बजेतिर छुटको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी माइक्रो बस मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी केही तलतिर विहान कबिर ६ः१० बजे दुर्घटनामा परेको थियो । माइक्रोबस दुर्घटनामा घाइते अवस्थामा उद्धार गरिएका मध्ये ५ पुरुष, ३ महिला र २ बालिका निधन भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य तीन जना यात्रुको हेटौडास्थित अस्पतालमा उपचार भइरहेको छ । हालसम्म १३ जनाको उद्धार गरिएको छ भने दुई जनाको अझै खोजी जारी छ । बसमा १५ जना यात्रु रहेको प्रारम्भिक अनुमानको आधारमा खोजी कार्य तीव्र बनाइएको सशस्त्र प्रहरी भिमफेदीले जनाएको छ ।
अत्यन्तै भिरालो जमिन भएकोले उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तथा अन्य स्थानीय र यात्रुहरु खटिएका छन् ।
दुर्घटनाका कारण खुल्न बाँकी छ । इभी माइक्रो बसहरुमा गम्भिर सुरक्षा चुनौतिहरु देखिएका छन् । हरेक महिनाजसो इभी गाडीहरु दुर्घटनामा यात्रुहरुको ज्यान गुमाइरहेका छन् । विहानैको समयमा गाडी अत्याधिक गतिमा कुदाइएको देखिएको छ । झिसमिसेमै काठमाडौंबाट छुटेको गाडी विहान उज्यालो हुने बेला चिसापानी गढी पुगिसकेको देखिएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनास्थल काठमाडौंको बल्खुबाट करिब ५३ किलोमिटर दुरीमा पर्दछ ।
