नेपाली विद्यार्थी समाजको अध्यक्षमा शेर्पा

तु खबर संवाददाता
२०८३ आश्विन ६, मंगलवार ०३:५८

दक्षिण कोरिया । दक्षिण कोरियास्थित नेपाली विद्यार्थी समाजको अध्यक्षमा सोनाम शेर्पा निर्वाचित भएका छन्। बुसानस्थित पुक्योङ राष्ट्रिय विश्वविद्यालयमा २० सेप्टेम्बरमा सम्पन्न समाजको २३ औँ वार्षिक साधारणसभाले शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको हो।

साधारणसभामा नेपाली राजदूतावासका कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईको विशेष उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष शेर्पाले दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीको हकहित संरक्षण, शैक्षिक सहजीकरण, रोजगारी तथा उद्यमशीलताका अवसरमा सहयोग र विद्यार्थीबीचको आपसी समन्वय विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

दक्षिण कोरियामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले भोग्दै आएको शैक्षिक कागजात प्रमाणीकरणको समस्याका विषयमा शेर्पाले लामो समयदेखि आवाज उठाउँदै आएका छन्। कोरियाली राजदूतावासबाट हुने कागजात प्रमाणीकरणका लागि अनलाइन समय लिन कठिन हुने, वेबसाइटमा समय–समयमा समस्या आउने तथा सीमित कोटाका कारण विद्यार्थीले लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थाले अध्ययन योजना प्रभावित हुँदै आएको विषय उनले सम्बन्धित निकायसमक्ष उठाएका थिए।

शेर्पाको पहलमा नेपाली विद्यार्थी समाजले कागजात प्रमाणीकरण प्रक्रियामा देखिएका समस्याबारे कोरियाली न्याय मन्त्रालय र परराष्ट्र मन्त्रालयसमक्ष औपचारिक उजुरीसमेत दर्ता गराएको थियो। प्रमाणीकरणमा हुने ढिलाइका कारण आवेदनको अन्तिम चरणमा पुगेका विद्यार्थीले प्रक्रिया अघि बढाउन नसकेको, परामर्श सेवाका लागि अतिरिक्त खर्च गर्नुपरेको तथा मानसिक तनावसमेत बेहोर्नुपरेको गुनासो विद्यार्थीबाट आउने गरेको थियो।

यसैबीच, सन् २०२६ जनवरीदेखि कोरियाली राजदूतावासले शैक्षिक कागजात प्रमाणीकरणका लागि अनलाइन वा इमेलमार्फत समय लिनुपर्ने व्यवस्था हटाएको थियो। नयाँ व्यवस्थाअनुसार दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीले स्वयं राजदूतावासमा उपस्थित भएर कागजात प्रमाणीकरणका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यसबाट समय नपाइने समस्या, लामो प्रतीक्षा र अनावश्यक परामर्श खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, कागजात प्रमाणीकरणसँग सम्बन्धित समस्या पूर्ण रूपमा समाधान भइनसकेको शेर्पाको भनाइ छ। नेपाल अपोस्टिल महासन्धिको सदस्य राष्ट्र नभएकाले विदेश अध्ययन, विश्वविद्यालय परिवर्तन, उच्च तहको अध्ययन तथा विभिन्न भिसा प्रक्रियामा आवश्यक पर्ने नेपाली कागजात प्रमाणीकरण अझै जटिल रहेको उनले बताए।

“अपोस्टिल प्रणालीमा सहभागी हुँदा विदेश अध्ययन, कोरियाभित्र विश्वविद्यालय परिवर्तन, माथिल्लो तहको अध्ययन र भिसा परिवर्तनका लागि आवश्यक कागजात प्रमाणीकरण सहज, पारदर्शी र कम खर्चिलो बन्न सक्छ,” शेर्पाले भने।

उनका अनुसार यसको लाभ नयाँ विद्यार्थीलाई मात्र नभई दक्षिण कोरियामै अध्ययनरत रहेर विश्वविद्यालय परिवर्तन गर्ने, उच्च तहको अध्ययनमा प्रवेश गर्ने तथा भिसा प्रक्रियाका क्रममा नेपालबाट जारी प्रहरी चारित्रिक प्रमाणपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने विद्यार्थीलाई समेत पुग्न सक्छ।

शेर्पाले क्युङसङ विश्वविद्यालयबाट ग्लोबल हस्पिटालिटी म्यानेजमेन्टमा स्नातक तथा ग्लोबल बिजनेसमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। हाल उनी सोही विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत छन्। उनको अनुसन्धानको मुख्य क्षेत्र अन्तर्राष्ट्रिय विद्यार्थी, अन्तर्राष्ट्रिय शिक्षा, आप्रवासन तथा विद्यार्थी उद्यमशीलता रहेको छ।

दक्षिण कोरियालाई अध्ययन गन्तव्य बनाउने विदेशी विद्यार्थीका विषयमा समेत उनले अनुसन्धान गर्दै आएका छन्। पछिल्ला केही वर्षदेखि दक्षिण कोरियामा रहेका नेपाली तथा अन्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक परामर्श, अनुवाद, स्वास्थ्यसम्बन्धी सहजीकरण तथा विभिन्न प्रशासनिक प्रक्रियामा सहयोग गर्दै आएको बताइएको छ। उनले विश्वविद्यालय तथा स्थानीय तहबाट विभिन्न सम्मान र पुरस्कारसमेत प्राप्त गरेका छन्।

नयाँ कार्यसमितिसँगै नेपाली विद्यार्थी समाजलाई थप प्रभावकारी, समावेशी र विद्यार्थीमैत्री संस्थाका रूपमा अघि बढाउने योजना शेर्पाले अघि सारेका छन्। आगामी दिनमा विद्यार्थीको अधिकार संरक्षण, विश्वविद्यालय तथा सम्बन्धित निकायसँग सहकार्य, शैक्षिक तथा रोजगारीसम्बन्धी मार्गदर्शन, उद्यमशीलतामा सहयोग तथा विद्यार्थीबीचको सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने समाजले जनाएको छ।