नेपालमा खोज तथा उद्धारका लागि सहायता बढाउन सांसदद्वारा रुबियोलाई आग्रह
न्युयोर्क । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार र भौतिक संरचनाहरूको पुनर्निर्माणमा अमेरिकी सहयोग बढाउन यहाँका सांसदहरूले विदेशमन्त्री मार्को रुबियोलाई आग्रह गरेका छन्।
न्युयोर्कबाट सञ्चालित अनलाइन मिडिया ‘खसोखास’ ले लेखेको समाचार अनुसार, अमेरिकी सहयोग उल्लेख्य रूपमा बढाउन २७ अमेरिकी सांसदले विदेशमन्त्री रुबियोलाई आग्रह गरेका हुन्।
विदेशमन्त्री रुबियोलाई पत्र पठाउँदै ती सांसदहरूले सबै स्रोत परिचालन गरी जारी खोज तथा उद्धार गर्न र नेपाललाई यस विपत्तिबाट बाहिर निस्कन सहयोग गर्न आग्रह समेत गरेका छन्।
यो बाढीको चपेटामा परेका नागरिकको खोजी तथा उद्धार गर्न र नष्ट भएका संरचना पुनर्निर्माण गर्न सबै प्रकारका सहयोगका लागि सांसदहरूले आग्रह गरेका हुन्। बाढीपहिरोका कारण १ हजारभन्दा बढी बढीको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी अहिले पनि हराइरहेका छन्। बेपत्ताहरूको सूचीमा विभिन्न देशका नागरिक छन्, तीमध्ये ७५ जना अमेरिकी नागरिक पनि सो बाढीपहिरोमा परेका छन्।
सम्पर्कविहीन भएका आफ्ना नागरिकसहित सबै जनाको उद्धार र खोजीका लागि अमेरिकी सांसदहरूले रुबियोलाई आग्रह गरेका हुन्। अमेरिकी विदेश मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसमार्फत आपत्कालीन सहयोग उपलब्ध गराएको भए तापनि अझै धेरै गर्न ती सांसदहरूले आग्रह गरेका हुन्।
प्रतिनिधिसभाका सदस्यहरू रो खन्ना, राजा कृष्णमूर्ति, सुहास सुब्रमण्यम, यभेट डी. क्लार्क, लतीफा साइमन, जस्मिन क्रकेट, निडिया एम. भेलाज्केज, राशिदा तलाएब, एलेनोर होम्स नोर्टन, इल्हान ओमर, प्रमिला जयपाल, स्टेफन एफ. लिन्च, श्री थानेदार, जिसस जी. “चुई” गार्सिया, जेम्स पी. म्याकगभर्न, केभिन मुलिन, सिड्नी कामलागर-डोभ, एरिक सोरेन्सन, रोबर्ट गार्सिया, अडेलिटा एस. ग्रिजाल्भा, सिल्भिया आर. गार्सिया, ज्यान शकाउस्की, जेनिफर एल. म्याक्लेलन, थोमस आर. सुजी, सारा एलफ्रेथ, मार्क ए. भेसी र यासमिन अन्सारीले हस्ताक्षर गरेको सो पत्रमा दीर्घकालीन अमेरिकी पुनर्निर्माण योजना बनाउन पनि आग्रह गरिएको छ।
