नेपाल र गिनी बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना

तु खबर संवाददाता
२०८३ भाद्र १७, बुधबार १८:२१
तस्बिरःसंयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग

नेपाल र पश्चिम अफ्रिकी मुलुक गणतन्त्र गिनी बिसाउबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार भदौ १६, २०८३ (१ सेप्टेम्बर २०२६) मा न्युयोर्कमा आयोजित एक समारोहका बीच दुवै देशका प्रतिनिधिहरूले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको देशको संख्या १८४ पुगेको छ।

उक्त सम्झौतापत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र गिनी बिसाउका स्थायी प्रतिनिधि साम्बा सानेले आ-आफ्नो देशका तर्फबाट हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि आयोजित भेटघाटमा दुवै देशका राजदूतहरूले द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने तथा विशेष गरी संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशको साझा हित र हितका विषयमा सहकार्य बढाउनेबारे छलफल भएको नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिएका छन् ।

पश्चिम अफ्रिकाको आन्द्र महासागरको तटीय क्षेत्रमा अवस्थित गिनी बिसाउ ३६,१२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ भने यसको जनसंख्या २२ लाखभन्दा बढी रहेको छ। उत्तरी सीमामा सेनेगल तथा दक्षिण र पूर्वमा गिनीसँग जोडिएको यो देशले १० सेप्टेम्बर १९७४ मा स्वतन्त्रता प्राप्त गरेको थियो र सोही वर्षको १७ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो।

नेपाल र गिनी बिसाउ दुवै अति कम विकसित राष्ट्र हुन्। साथै, दुवै देश संयुक्त राष्ट्रसंघका साथै ७७ को समूह र असंलग्न आन्दोलनका सदस्य राष्ट्र पनि हुन्।