बाढीपीडितका लागि राहत तथा उद्धार कार्य तीव्र पार्न पूर्व राजदूत संघको आग्रह

तु खबर संवाददाता
२०८३ भाद्र १७, बुधबार १८:१३

पूर्व राजदूत संघ, नेपालले रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार र राहत कार्यका लागि सरकार तथा सम्बद्ध निकायहरूसँग आग्रह गरेको छ।

संघका अध्यक्ष चोपलाल भुसाल र महासचिव भीम उदासद्वारा जारी प्रेस विज्ञप्तिमा आकस्मिक बाढीका कारण मानवीय क्षति हुनुका साथै ठूलो संख्यामा मानिसहरू घाइते तथा विस्थापित भएको र भौतिक संरचनाहरू नष्ट भएकोमा चिन्ता प्रकट गरिएको छ। बाढीबाट ज्यान गुमाएकाका परिवारप्रति संवेदना व्यक्त गर्दै संघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

खोज तथा उद्धार र मानवीय सेवामा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, गैरआवासीय नेपाली, स्वयंसेवक र सर्वसाधारणको प्रयासको प्रशंसा गर्दै संघले अझै जोखिममा परेकाहरूको तत्काल उद्धार गर्न माग गरेको छ। विशेष गरी बालबालिका, महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर आपत्कालीन आश्रय, खाद्यान्न, खानेपानी र उपचारको व्यवस्था मिलाउन आग्रह गरिएको छ।

राजनीतिक दलीय स्वार्थभन्दा माथि उठेर यस राष्ट्रिय विपद्को सामना गर्न सबै दल, नागरिक समाज र आम जनतालाई आह्वान गर्दै संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यथाशक्य सहयोग पुर्‍याउन समेत सबैलाई अपिल गरेको छ।