करोडौँको सिक्का’को सपना बेच्दै ठगी, झापामा गिरोह पक्राउ

तु खबर संवाददाता
२०८३ श्रावण १३, बुधबार ११:५०

काठमाडौँ । झापामा पुरानो तामा वा धार्मिक आकृति भएका सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह सक्रिय रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाले यस्ता गतिविधिमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा भारतको किसनगन्जका ३१ वर्षीय नाजबुल अन्सारी, २४ वर्षीय सरफराज मियाँ र सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँ रहेका छन्। अन्सारी र सरफराजलाई झापाको हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रबाट पक्राउ गरिएको हो भने साबिर मियाँलाई बाह्रदशी गाउँपालिका–७ रुपनचवारीबाट भगवान्को आकृति भएका चार वटा सिक्कासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठगी गर्ने समूहले पुराना तथा धार्मिक आकृति भएका सिक्काहरू विदेश वा बजारमा करोडौँ रुपैयाँमा बिक्री हुने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेका छन्। सुरुमा सिक्का देखाएर विश्वास दिलाउने र त्यसपछि परीक्षण वा खरिद प्रक्रियाको बहानामा रकम असुलेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।