आफ्नो सहुलियत टिकट वितरणको जिम्मा एयरलाइन्स आफैँले लिने

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार १५:२७

दुनै, डोल्पा, १० फागुन । नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लामा उडान गर्ने विभिन्न एयरलाइन्सको सहुलियत टिकट वितरणको जिम्मा एयरलाइन्स आफैँले लिने भएका छन् ।

वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरिलाई रोक्न सम्बन्धित एयरलाइन्सलाई नै वितरण गर्न निर्देशन दिइएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतावबाबु तिवारीले बताउनुभयो ।

उहाँका अनुसार योभन्दा अगाडि सम्बन्धित जिल्लामा गठन गरिएको सेवा समाजलाई सहुलियत टिकट वितरणको जिम्मा दिने गर्दा टिकट वितरणमा मनपरि भएको बताउनुभयो ।

निजी विमान कम्पनीलाई सहुलियत उडानमा बिरामी, अशक्त, अपांग र विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर टिकट वितरण गर्नसमेत नागरिक उड्डयनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्रमुख तिवारीका अनुसार सिधै विमान कम्पनीको कार्यालयमा गएर सहुलियत टिकट लिनको लागि यात्रुलाई आग्रह गर्नुभएको छ ।

कर्णालीमा तारा, गोमा र सीता एअरलाइन्सले हप्तामा एउटा सहुलियत उडान गर्दै आएका छन् भने नेपाल एअरलाइन्सले भने एउटा विमानस्थलमा हप्तामा दुईवटा उडान गर्दै आएको छ ।

प्रायः निजी विमान कम्पनीले चार्टर उडानलाई प्राथमिकतामा राखेर सहुलियत उडानमा ढिलाइ गर्ने पाइएकाले हप्तामा एउटा मात्र गरिने सहुलियत उडानलाई प्राथमिकतामा राखेर उडान गर्न नेपाल वायुसेवा निगमले निजी विमान कम्पनीलाई आग्रहसमेत गरेको छ ।

नेपालगञ्जदेखि हुने चार्टर उडानमा दुईतर्फी भाडा लाग्ने गर्दछ भने सहुलियत उडानमा एकतर्फी भाडा मात्रै लाग्ने गर्दछ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*