लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बने मेसी
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को समूह चरणमा शतप्रतिशत जित निकाल्दै समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
टेक्ससको डल्लास स्टेडियममा आइतबार बिहान सम्पन्न समूह ‘जे’ अन्तर्गतको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै तीन खेलबाट ९ अंक जोड्यो। जोर्डन भने लगातार तीन हारसँगै अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।
अर्जेन्टिनाको जितमा जियोभानी लो सेल्सो, लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान एक–एक गोल गरे। जोर्डनका लागि मुसा अल–तमारीले एक गोल फर्काए।
खेलको १९औँ मिनेटमा लो सेल्सोले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा प्राप्त पेनाल्टीलाई मार्टिनेजले गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको ५५औँ मिनेटमा अल–तमारीले गोल गर्दै जोर्डनलाई खेलमा फर्काउने प्रयास गरे। तर दोस्रो हाफमै मैदान प्रवेश गरेका कप्तान मेसीले ८०औँ मिनेटमा शानदार फ्रिकिक गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे।
यो गोलसँगै मेसीले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्याएका छन्। उनले यसअघि अल्जेरियाविरुद्ध पहिलो खेलमा र अस्ट्रियाविरुद्ध दोस्रो खेलमा पाँच गोल गरेका थिए। साथै, मेसी विश्वकप इतिहासमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेर नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन्।
यसअघि अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा अल्जेरियालाई ३–० तथा दोस्रो खेलमा अस्ट्रियालाई २–० ले पराजित गरेको थियो।
समूह ‘जे’ बाट अर्जेन्टिना ९ अंकसहित शीर्ष स्थानमा रह्यो। समान ४–४ अंक जोडेका अल्जेरिया र अस्ट्रिया गोलअन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगे।
