किराका कारण किसान भए हैरान

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार १५:०६

ललितपुर, १० फागुन । तरकारीमा लाग्ने टुटा किरा (पात खाने) किराका कारण किसान हैरान छन् ।

किराका कारण पात बिग्रिएर जाने कृषि विभागअन्तर्गतको प्लान्ट क्वारेन्टाइन कार्यक्रममा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो ।

पहिले भुसुनाजस्तो हुने यो किराले पछि लार्भाजस्तो स्वरुप बनाउँछ । किराले असर गरेको पातबाट थाहा हुने भए पनि किसानले थाहा पाउँदासम्म बालीमा नोक्सान गर्छ । यो किराले आक्रमण गर्दा ७० प्रतिशतसम्म उत्पादन नोक्सान गर्ने खरेलको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “पहिले यो रोग एक दुईथरी तरकारीमा लागे पनि अहिले धेरैमा फैलिएको छ ।”

चार वर्ष पहिले भित्रिएको यो रोग अहिले करिब ३५ जिल्लामा फैलिसकेको खरेल बताउनुहुन्छ । पहिले दक्षिण अफ्रिकामा देखिएको यो समस्या अफ्रिकाबाट भारत हुँदै नेपाल भित्रिएको हो । गोलभेँडा वा त्यही प्रजातिका तरकारीबाट यो रोग नेपाल भित्रिएको उहाँ बताउनुहुन्छ ।

रोग भएका बाली वा बिरुवा नभित्र्याउन १६ वटा नाकामा जाँच गर्ने कार्यालय छन् । बीउबाट मात्रै नभएर फल नै ल्याउँदासमेत रोग सर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रोग भएको तरकारी पखालेर हामी जमिनमा फाल्छौँ, यही माटोबाट समेत बोटबिरुवामा रोग सर्छ ।” रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*