‘विदेशमा रहँदा हामी सबै एकअर्काका सहारा हौँ’

तु खबर संवाददाता
२०८३ जेष्ठ १६, शनिबार १४:३३

नेपाल गोरखा परिवार दक्षिण कोरियाका अध्यक्ष देवी गौतमसँग तु खबरले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सवालः दक्षिण कोरियामा नेपाली समुदायका पुराना र स्थापित संस्थामध्ये नेपाल गोरखा परिवार दक्षिण कोरिया पनि एक हो। यस संस्थाको स्थापना कहिले, किन र कस्तो आवश्यकता महसुस गरेर गरिएको हो ? साथै, संस्थाले बोकेको मूल उद्देश्य र वर्तमान संगठनात्मक अवस्थाबारे जानकारी गराइदिनुहोस् न ?

जवाफः “प्रवासी भूमिमा हाम्रो एकता, सुख–दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मूल मन्त्रका साथ नेपाल गोरखा परिवार दक्षिण कोरियाको स्थापना सन् २००२ मा भएको हो। संस्थाको स्थापनामा आदरणीय नवराज भण्डारीज्यूको नेतृत्वदायी भूमिका रहेको थियो। दक्षिण कोरियामा रहेका गोरखाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख–दुःखमा साथ दिने तथा यहाँ रहेका नेपाली समुदायले भोग्नुपर्ने विभिन्न समस्या र चुनौतीहरूको समाधानका लागि सहकार्य गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको हो।

सन् २००२ मा स्थापना भई लामो इतिहास बोकेको हाम्रो गौरवशाली संस्था नेपाल गोरखा परिवार दक्षिण कोरिया हाल १३ औँ कार्यसमितिसम्म आइपुगेको छ। वर्तमान कार्यसमितिको नेतृत्व गर्ने अवसर मैले प्राप्त गरेको छु। संस्थामा संरक्षक, सल्लाहकार तथा कार्यसमिति सदस्यसहित ३० जनाभन्दा बढी व्यक्तिहरू सक्रिय रूपमा आबद्ध भई संस्थालाई गतिशील बनाइरहनुभएको छ।

गोरखा जिल्ला घर भई हाल दक्षिण कोरियामा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूसँग निरन्तर सम्पर्क, सहकार्य र समन्वय गर्दै हामी अघि बढिरहेका छौँ। साथै, दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायसँग पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिइरहेका छौँ।

सवालः संस्थाको नेतृत्व सम्हाल्ने क्रममा तपाईंले अनुभव गर्नुभएका प्रमुख चुनौतीहरू के–के हुन् ? साथै, कार्यकालको सुरुआती चरणमै संस्थालाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउन गरिएका उल्लेखनीय पहल तथा उपलब्धिहरूबारे पनि बताइदिनुहोस् न ?

जवाफः सामाजिक संस्थाको नेतृत्व गरिरहँदा मैले आफूलाई अझ बढी जिम्मेवार महसुस गरेको छु। नेतृत्वसँगै विभिन्न चुनौतीहरू आउनु स्वाभाविक हो। तर ती चुनौतीहरूसँगै गोरखाली तथा समग्र नेपाली दाजुभाइ–दिदीबहिनीहरूसँग सुख–दुःख साट्न पाउनु, उहाँहरूका समस्या बुझ्न र समाधानका लागि पहल गर्न पाउनु सामाजिक जीवनको वास्तविक महत्व अनुभूति गर्ने अवसर बनेको छ।

तेह्रौँ कार्यसमितिको नेतृत्व सम्हालेपछि संस्थालाई थप गतिशील बनाउने उद्देश्यका साथ दक्षिण कोरियामा रहेका गोरखाली दाजुभाइ तथा दिदीबहिनीहरूको तथ्यांक संकलन अभियान सुरु गरिएको छ। यसका लागि गुगल फर्ममार्फत निःशुल्क दर्ता प्रणाली सञ्चालन गरी सम्पूर्ण गोरखाली समुदायलाई आफ्नो विवरण अद्यावधिक गर्न आह्वान गरिएको छ।

त्यसैगरी, नेपालमा विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले सन् २०१२ मा स्थापना गरिएको हाम्रो भगिनी संस्था ‘गोरखा परिवार वेल्फेयर फाउन्डेसन’लाई पुनः सक्रिय बनाउने पहल गरिएको छ। केही वर्षदेखि अधिवेशन तथा सामाजिक गतिविधिमा अपेक्षित सक्रियता नदेखिएको अवस्थालाई मध्यनजर गर्दै नेपालमै पुगेर बैठक सम्पन्न गरिएको थियो। उक्त अवसरमा छिट्टै अधिवेशन सम्पन्न गर्न, संस्थाको आय–व्यय विवरण सार्वजनिक गर्न तथा हालसम्मका सामाजिक गतिविधिहरूको विस्तृत विवरण प्रस्तुत गर्न आग्रह गरिएको छ।

यसैबीच, कोरियामा रहेका गोरखाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आत्मीयता, सामीप्यता र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। साथै, नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गरिएको छ।

हामी सुखमा खुसी साट्ने र समस्या पर्दा एकअर्काको साथमा उभिने संस्कारलाई संस्थाको प्रमुख प्राथमिकताका रूपमा लिँदै त्यसलाई निरन्तरता दिइरहेका छौँ।

सवालः दक्षिण कोरियामा रहेका गोरखाली तथा समग्र नेपाली समुदायको वर्तमान अवस्था तपाईंको दृष्टिमा कस्तो छ ? रोजगारी, सामाजिक जीवन, मानसिक स्वास्थ्य तथा अन्य पक्षमा उनीहरूले सामना गरिरहेका प्रमुख समस्या र चुनौतीहरू के–के छन् ? यस्ता विषयमा संस्थाले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?

जवाफः दक्षिण कोरियामा रहेका गोरखाली तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूमध्ये धेरैको अवस्था सन्तोषजनक भए पनि केही नेपालीहरूको अवस्था अझै चुनौतीपूर्ण रहेको देखिन्छ। कम्पनीको कार्यदबाब, श्रमको कठिन प्रकृति, पारिवारिक तनाव तथा मानसिक दबाबका कारण पछिल्लो समय केही दुःखद तथा अकल्पनीय घटनाहरू बढिरहेका छन् भन्ने जानकारीहरू प्राप्त भइरहेका छन्।

यस विषयलाई गम्भीरतापूर्वक लिँदै यहाँ क्रियाशील विभिन्न संघसंस्था, नेपाली राजदूतावास तथा सम्बन्धित निकायहरूले दीर्घकालीन समाधानका उपायहरू खोज्न आवश्यक रहेको महसुस गरेको छु।

तर पछिल्लो समय एउटा चिन्ताको विषय के पनि देखिएको छ भने केही संघसंस्थाहरू समस्याको समाधानभन्दा आर्थिक संकलनतर्फ बढी केन्द्रित भएका हुन् कि भन्ने प्रश्न उठ्न थालेको छ। त्यसतर्फ सम्पूर्ण सामाजिक संघसंस्थाहरू सचेत रहँदै वास्तविक समाजसेवाको भावनाका साथ समुदायको हितमा केन्द्रित हुन आवश्यक छ भन्ने मेरो धारणा छ।

सवालः नेपाली समुदायलाई जोड्ने तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले के–कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ? साथै, प्रवासमा नेपाली भाषा, कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनका लागि गरिएका प्रयासहरूबारे पनि बताइदिनुहोस् न ?

जवाफः हामीले सामाजिक, सांस्कृतिक तथा समुदायकेन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ। नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम, आन्तरिक वनभोज, भेटघाट कार्यक्रम लगायतका गतिविधिमार्फत समुदायबीच आत्मीय सम्बन्ध विस्तार गर्ने प्रयास गरिरहेका छौँ।

त्यसैगरी, दक्षिण कोरियामा रहेका राजनीतिक, सामाजिक, धार्मिक तथा जातीय संघसंस्थाहरूसँग निरन्तर सहकार्य र समन्वय गर्दै नेपाली भाषा, संस्कृति, परम्परा तथा सामाजिक एकताको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याइरहेका छौँ।

साथै, हामी कोरियाव्यापी खुला लोकदोहोरी प्रतियोगिता आयोजना गर्ने तयारीमा छौँ। सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सहयोग जुटाउने उद्देश्यले आगामी १६ अगस्टमा उक्त कार्यक्रम आयोजना हुँदैछ।

नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै परोपकारी कार्यलाई जोड्ने लक्ष्यका साथ आयोजना हुन लागेको उक्त कार्यक्रमलाई नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सहजीकरण गर्नेछ भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–कोरिया शाखा र गण्डकी प्रदेश समाज दक्षिण कोरियाले समन्वय गर्नेछन्।

फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा आयोजना हुने उक्त कार्यक्रमबाट बचत भएको रकम गोरखा जिल्लाका विकट तथा स्रोतसाधनको अभाव भएका शैक्षिक संस्थाहरूमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ।

साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको छ। दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई उक्त कार्यक्रम भव्य र सफल बनाउन सहभागिताका लागि हार्दिक अनुरोध गर्न चाहन्छु।

सवालः प्रवासमा बसोबास गर्ने नेपालीहरूले कानुनी जटिलता, श्रमसम्बन्धी समस्या, भिसा प्रक्रिया, औद्योगिक दुर्घटना, स्वास्थ्य संकट तथा अन्य आपत्कालीन अवस्थाहरू सामना गर्नुपर्ने अवस्था पनि आउँछ। यस्ता संवेदनशील परिस्थितिहरूमा संस्थाले नेपाली समुदायलाई कस्तो सहयोग, सहजीकरण र समन्वय प्रदान गर्दै आएको छ ?

जवाफः दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरूले कम्पनी परिवर्तनमा कठिनाइ, श्रमसम्बन्धी कानुनी जटिलता तथा कार्यस्थलसँग सम्बन्धित विभिन्न समस्याहरू भोगिरहेका छन्। कतिपय कम्पनीहरू जोखिमपूर्ण प्रकृतिका भएकाले औद्योगिक दुर्घटनाका घटनाहरू पनि समय–समयमा हुने गरेका छन्।

यस्ता समस्याहरूको दीर्घकालीन समाधानका लागि मजदुर युनियन, नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ एनआरएनए तथा विभिन्न सामाजिक संघसंस्थाहरूले संयुक्त रूपमा पहल गर्नुपर्ने आवश्यकता रहेको महसुस गरेको छु।

विगतमा दक्षिण कोरियामा निधन भएका नेपालीहरूको शव स्वदेश पठाउने प्रक्रिया निकै जटिल थियो। तर नेपाल सरकारले आवश्यक व्यवस्थापन गरेपछि अहिले सामाजिक संघसंस्थाहरूको समन्वयमा यो प्रक्रिया तुलनात्मक रूपमा सहज बन्दै गएको छ।

त्यसैगरी, दीर्घरोगका कारण अस्पतालमा उपचाररत नेपालीहरूको सहयोग तथा विभिन्न समस्याको समाधानका लागि यहाँ सक्रिय संघसंस्थाहरूले पुर्‍याएको योगदानप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामी पनि नेपाली समुदायको दुःख–सुखमा निरन्तर साथ दिँदै आवश्यकताअनुसार सहयोग र सहजीकरण गर्ने प्रयासमा सक्रिय छौँ।

सवालः दक्षिण कोरियामा क्रियाशील विभिन्न नेपाली संघ–संस्था, सामुदायिक संगठन तथा नेपाली राजदूतावाससँग नेपाल गोरखा परिवार दक्षिण कोरियाको सहकार्य र सम्बन्धलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ? समुदायका साझा मुद्दाहरूमा आपसी समन्वय कत्तिको प्रभावकारी छ ? 

जवाफः दक्षिण कोरियामा रहेका सामाजिक संघसंस्थाहरूबीच सहकार्यको वातावरण भए पनि पछिल्लो समय प्रतिस्पर्धात्मक प्रवृत्ति बढ्दै गएको अनुभव गरिएको छ। विशेषगरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने एनआरएनएजस्तो संस्था नै विभिन्न कारणले विभाजित अवस्थामा पुग्नु दुःखद पक्ष हो।

यसको प्रभाव अन्य सामाजिक संस्थाहरूमा पनि परेको देखिन्छ। समान उद्देश्य बोकेका संस्थाहरूले समानान्तर संस्था गठन गर्दै जाने प्रवृत्तिले समुदायलाई अझ विभाजित र कमजोर बनाउने खतरा रहन्छ।

त्यसैले समुदायका साझा मुद्दा र हितलाई केन्द्रमा राख्दै सबै संघसंस्थाहरू सहकार्य, समन्वय र एकताको भावनाका साथ अघि बढ्न आवश्यक छ भन्ने मेरो विश्वास छ।

नेपाल गोरखा परिवार दक्षिण कोरिया सदैव सहकार्य र समन्वयको पक्षमा छ। हामी यहाँ रहेका सम्पूर्ण संघसंस्थाहरूसँग आवश्यकता अनुसार सहकार्य गर्दै आएका छौँ र आगामी दिनमा पनि त्यही भावनाका साथ अगाडि बढ्नेछौँ।

सवालः आगामी दिनमा नेपाल गोरखा परिवार दक्षिण कोरियाले कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना बनाएको छ ? साथै, संस्थागत गतिविधिलाई अझ प्रभावकारी, पारदर्शी र समुदायमुखी बनाउन के–कस्ता सुधार आवश्यक छन् भन्ने तपाईंलाई लाग्छ ?

जवाफः मैले माथि पनि उल्लेख गरिसकेको छु, हाम्रो आगामी प्रमुख योजनाअन्तर्गत सन् २०२६ अगस्ट १६ तारिख आइतबार दक्षिण कोरियाव्यापी खुला लोकदोहोरी प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ।

कोरियामा रहेका नेपाली लोकप्रतिभाहरूलाई आफ्नो कला, क्षमता र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु यस कार्यक्रमको प्रमुख उद्देश्य हो।

कार्यक्रमका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समितिको निर्णयअनुसार लोकप्रिय लोकगायक सूर्य खड्कालाई आमन्त्रण गर्ने तयारी गरिएको छ। त्यसैगरी, चर्चित गायक तथा कुशल कार्यक्रम प्रस्तोता दिनेश थापालाई पनि कार्यक्रममा सहभागी गराइनेछ।

संस्थागत सुधारका सन्दर्भमा समुदायको प्रत्यक्ष सहभागिता, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यसम्पादनलाई अझ सुदृढ बनाउन आवश्यक रहेको महसुस गर्दछु। समुदायसँग निरन्तर संवाद, सुझाव र सहकार्यका आधारमा संस्थाका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।

नेपाली समुदायको हितका लागि सञ्चालन गरिरहेका सकारात्मक प्रयासहरूलाई आगामी दिनमा अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने हाम्रो प्रतिबद्धता छ।

सवालः दक्षिण कोरियामा रहनुभएका नेपाली समुदायलाई तपाईंको सन्देश के छ ?

जवाफः विदेशमा रहेर पनि आफ्नो समुदाय, जिल्ला र देशका लागि सकारात्मक योगदान गर्न सकिन्छ भन्ने विश्वासले नै मलाई सामाजिक अभियानमा सक्रिय बनाएको हो। संस्थाको नेतृत्व अवसरभन्दा पनि ठूलो जिम्मेवारी हो भन्ने महसुस गरेको छु, र त्यसैअनुसार संस्थालाई अझ सक्रिय र चलायमान बनाउने प्रयास गरिरहेको छु।

दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो लक्ष्य स्पष्ट राख्न आग्रह गर्न चाहन्छु। कानुनी प्रक्रियाको पूर्ण पालना गर्नुहोस्, निरन्तर मेहनत गर्दै आफ्नो भविष्य निर्माणमा केन्द्रित रहनुहोस् र समुदायसँग जोडिएर अघि बढ्नुहोस्।

व्यक्तिगत सफलता महत्वपूर्ण छ, तर सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन। हामी सबै एकअर्काका सहयात्री हौँ। त्यसैले आउनुहोस्, हातेमालो गर्दै, सुख–दुःख बाँड्दै र एकअर्कालाई साथ दिँदै अघि बढौँ।

दक्षिण कोरियाको जुनसुकै स्थानमा रहनुभएका गोरखाली तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई एकताबद्ध रहन, आपसी सहयोगको भावना अझ सुदृढ बनाउन तथा आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षणमा सचेत रहन आग्रह गर्दछु।

विदेशी भूमिमा रहँदा हामी सबै एकअर्काका सहारा हौँ। त्यसैले सुखमा मात्र होइन, दुःखमा पनि एकअर्काको साथमा उभिने संस्कारलाई अझ बलियो बनाऔँ। यही नै नेपाल गोरखा परिवार दक्षिण कोरियाको मूल भावना र प्रतिबद्धता हो।

अन्त्यमा, आफ्ना विचारहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा तपाईंको लोकप्रिय सञ्चारमाध्यमप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।