लाखौँको लगानिमा पशुपक्षी फार्म, दुध बेचेरै जोडे घरजग्गा

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार १३:४९
बाँसबोटमा पालेका गाईभैँसी म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गा पौडेलले रु १५ लाखको लगानीमा पालेका गाईभैँसी । फर्ममा दैनिक एक सय लिटर दूध उत्पादन हुने गरेको छ । तस्वीर : सन्तोष गौतम, म्याग्दी, रासस

बाबियाचौर, म्याग्दी, १० फागुन । बेनी नगरपालिका–६ बाँसबोटमा एकजना कृषकले रु १८ लाखको लगानीमा पशुपक्षी फार्म स्थापना गर्नुभएको छ ।

परम्परागतरुपमा गाईभैँसीपालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यावसायिक बनाउन वरदान पशुपक्षी फार्म स्थापना गर्नुभएको हो ।

फार्म स्थापनाका लागि गोठ निर्माण, गाईभैँसी र राँगो खरिद गर्न रु १८ लाख लगानी भएको पौडेलले बताउनुभयो । विसं २०५२ देखि परम्परागत रुपमा गाईभैँसी पालेर दूध बेच्दै आउनुभएका उहाँले पशुपालन पेशालाई व्यवस्थित र व्यावसायिक बनाउन फार्मको स्थापना गर्नुभएको हो ।

फार्ममा हाल दशवटा मुर्रा जातको भैँसी तथा एक÷एकवटा जर्सी गाई र राँगो रहेको छ । तीन जनाले पूर्णरुपमा रोजगारी पाएका छन् । दैनिक १०० लिटर दूध उत्पादन हुने गरेको छ । सदरमुकाम बेनी बजारमा प्रतिलिटर रु ७० का दरले दूध बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । पौडेलले दूध बेचेको आम्दानीले घर निर्माणका साथै सात रोपनी जग्गा जोड्नुभएको छ । छोराछोरीको पढाइ र घरव्यवहार चलाउन आम्दानीको स्रोत दूध बनेको छ ।

पौडेलले बेनीको एक निजी विद्यालयमा १४ वर्षसम्म कार्यालय सहयोगीका रुपमा काम गर्नुभएको थियो । पाँच वर्षअघि निजी विद्यालयको जागीर छोडेर भैँसीपालन शुरु गर्नुभएका उहाँले भैँसी खरिद बिक्रीसमेत गर्दै आउनुभएको छ । उहाँले जिल्ला पशुसेवा कार्यालयबाट व्यावसायिक पशुपालन र गुणस्तरीय दूध उत्पादन सम्बन्धि तालीम लिनुभएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*