कोरियामा शैक्षिक सहयोगार्थ लोकदोहोरी प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०८३ जेष्ठ १०, आईतवार ०६:०१
फाइल तस्वीर

दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा खुल्ला लोकदोहोरी प्रतियोगिता आयोजना हुने भएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सहयोग जुटाउने उद्देश्यसहित आउँदो १६ अगस्टमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै परोपकारी कार्यलाई जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष देवी गौतमले जानकारी दिए । उक्त प्रतियोगिता आयोजना गर्नका लागि कोरियास्थित विभिन्न नेपाली संघसंस्थाहरूसँग समन्वय गरिएको उनले बताए ।

प्रतियोगितालाई नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सहजिकरण गर्ने तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखा र गण्डकी प्रदेश समाज दक्षिण कोरियाले समन्वय गर्ने जनाइएको छ ।

कार्यक्रम फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा हुने गौतमले जानकारी दिए।

प्रतियोगिताको प्रमुख उद्देश्य गोरखा जिल्लाका विकट तथा स्रोतसाधनको अभाव भएका शैक्षिक संस्थाहरूमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनु रहेको उनको भनाई छ । विदेशमा रहँदा पनि मातृभूमिप्रति जिम्मेवारी महसुस गर्दै शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको गौतमले बताए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरुलाई आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रथम हुने समूहलाई ८ लाख, द्वितीयलाई ४ लाख र तृतीयलाई ३ लाख कोरियन वोन प्रदान गरिनेछ।

संस्थाका महासचिव अशोक खड्काले नेपाल गोरखा परिवार स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा परोपकारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको उल्लेख गरे। उनले विगतमा पनि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सहयोगका कार्यक्रमहरू सञ्चालन गरिएको बताउँदै यस पटकको कार्यक्रमलाई अझ सफल बनाउन विभिन्न व्यक्ति, संघसंस्था, प्रतिष्ठान, मनकारी तथा शुभचिन्तकहरूबाट प्रायोजन, सहप्रायोजन तथा सौजन्य सहयोगको अपेक्षा गरिएको बताए।

नेपाल गोरखा परिवारले गण्डकी प्रदेश अन्तर्गतका १० जिल्लाका संस्थाहरू मात्र नभई दक्षिण कोरियामा रहेका अन्य नेपाली संघसंस्थासँग पनि निरन्तर सहकार्य र समन्वय गर्दै आएको छ। यसले आपसी एकता, सहकार्य र नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आएको संस्थाले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक दर्शकका लागि खानासहित प्रवेश शुल्क ३५ हजार कोरियन ओन निर्धारण गरिएको छ भने प्रतियोगितामा भाग लिन चाहने समूह दर्ताको लागि ५० हजार कोरियन वोन निर्धारण गरिएको छ । प्रतियोगितामा मुख्य निर्णायकको रूपमा गायक सूर्य खड्का रहनेछन् भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र आयोजकको तर्फबाट थप एक–एक जना सदस्य निर्णायक मण्डलमा रहने जानकारी दिइएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक समूहले संस्थामा सम्पर्क गरी दर्ता प्रक्रिया अघि बढाउन सक्ने जनाइएको छ । साथै आयोजकले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली समूदायलाई सहभागिता जनाउन अनुरोध समेत गरेको छ।