नेप्सेमा सामान्य सुधार,पर्ख र हेर’को मनस्थितिमा लगानीकर्ता

तु खबर संवाददाता
२०८३ जेष्ठ १, शुक्रबार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य सुधार देखिए पनि लगानीकर्तामा उत्साह फर्किन सकेको छैन । लगातारको उतारचढाव र बजारमा बढ्दो अनिश्चितताका कारण लगानीकर्ता अझै ‘पर्ख र हेर’को मनस्थितिमा रहेको देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा पुगेको छ । आज ३३८ कम्पनीको ७९ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

यद्यपि बजारमा सुधार सामान्य मात्रै देखिएको छ । पछिल्ला केही दिनदेखि निरन्तर गिरावट भोगिरहेको बजारमा कारोबार रकम समेत उल्लेख्य रूपमा घटेको छ । केही महिनाअघि दैनिक २० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने बजार अहिले २ देखि ३ अर्ब रुपैयाँमै सीमित हुन थालेको छ । यसले बजारमा सहभागिता र तरलता दुवै कमजोर बन्दै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।

आजको कारोबारमा युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यसपछि अपी पावर, रिलायन्स स्पिनिङ मिल्स, एसवाई प्यानल, हिमालयन रि–इन्स्योरेन्स, सोलु हाईड्रोपावर, नेशनल हाईड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत् र साहस ऊर्जा उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।

आज १३ उपसूचकमध्ये ७ उपसूचकमा सामान्य सुधार देखिएको छ भने ६ उपसूचक राताम्मे बनेका छन् । कारोबार भएका कम्पनीमध्ये १२७ कम्पनीको शेयर मूल्य बढेको, १२० कम्पनीको घटेको तथा २२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

विश्लेषकहरूका अनुसार सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रमले पनि बजारमा अपेक्षित सकारात्मक प्रभाव पार्न सकेको छैन । सुधारका घोषणा भए पनि व्यवहारिक कार्यान्वयनप्रति लगानीकर्तामा विश्वास नबढ्दा नयाँ खरिद चासो कमजोर बनेको देखिएको छ ।

त्यसैगरी पछिल्लो समय प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूमाथि भएको कारबाही र पक्राउ प्रक्रियाले पनि बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको बताइएको छ । यसले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाउँदै जोखिम न्यूनीकरणका लागि बिक्री चाप बढाएको विश्लेषण गरिएको छ ।

यद्यपि दीर्घकालीन आधारभूत पक्ष भने पूर्ण रूपमा कमजोर नभएको जानकारहरूको भनाइ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक रहेको, ब्याजदर घट्दो क्रममा रहेको तथा तरलता सहज बन्दै गएकोले दीर्घकालमा बजार सुधार हुने अपेक्षा गरिएको छ ।