मालपोत अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर

तु खबर संवाददाता
२०८३ बैशाख १७, बिहीबार १५:४८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा नक्कली जग्गाधनी खडा गरी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा तत्कालीन मालपोत अधिकृतसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

रुपन्देहीको साविक मैनहिया गाविसमा रहेको मृतक बेलर कहारको नामको २-०-५ बिघा जग्गा निजको वास्तविक हकवाला छोरी सन्जु कहारको नाममा हकहस्तारण नगरी नक्कली हकवाला खडा गरिएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । मालपोतका कर्मचारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा बुद्धिराम कहारलाई मृतकको भाइ बनाएर उक्त जग्गा नामसारी गरिएको आयोगको अनुसन्धानले देखाएको छ ।

सियारी गाउँपालिका वडा नं। २ का तत्कालीन वडा अध्यक्ष राम किशन थारू र सदस्य वृजनारायण यादवले बुद्धिराम कहार मृतकको भाइ भएको भनी फर्जी नाता प्रमाणित, सर्जमिन मुचुल्का र चारकिल्ला सिफारिस तयार पारेका थिए। सोही गलत सिफारिसका आधारमा मालपोत कार्यालय भैरहवाका कर्मचारीहरूले श्रेस्ता र पुर्जा जारी गरी सरकारी अभिलेखमा झुट्टा विवरण प्रविष्ट गरेको पुष्टि भएको छ ।

मुद्दा दायर गरिएकाहरूमा तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा र खरिदार अजित कुमार साहनी रहेका छन्। त्यस्तै, सियारी वडा नं। २ का तत्कालीन वडा अध्यक्ष राम किशन थारू, वडा सदस्य वृजनारायण यादव र जग्गा प्राप्त गर्ने नक्कली हकवाला बुद्धिराम कहारमाथि पनि आरोपपत्र दायर गरिएको छ।

आयोगले सबै प्रतिवादीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफा बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ। मुख्य मतियारका रूपमा काम गर्ने बुद्धिराम कहारलाई पनि मुख्य कसुरदार सरह नै सजाय गर्न माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।