हेटौँडा सहित अन्य स्थानमा आगलागी हुँदा ५१ लाख क्षति
काठमाडौं, ९ फागुन । मकवानपुरको हेटौँडा सहित पर्वत, उदयपुर, भक्तपुर र ललितपुरमा आगलागी हुँदा करिब ५१ लाख बराबरको धनमाल जलेको छ ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका–१० टिसिएन रोडमा बिकास बस्नेतले सञ्चालन गरेको गाडी मर्मत गर्ने ग्यारेजमा मंगलबार बिजुली सर्ट भई आगलागी हुँदा करीब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै पर्वतको जलजला गाउँपालिका–७ किराखोर बस्ने गमबिरे दमाईको घरमा मंगलबार आगलागी हुँदा १ तले खरले छाएको कच्चि घर र गोठ पूर्ण रुपमा जलेर करीब ८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
उदयपुरको कटारी नगरपालिका–१२ खड्कुले बस्ने सरिता बि.क.को ढुङ्गा माटोले बनेको २ तले घरमा खाजा पकाउने क्रममा मंगलबार चुलोबाट आगो सल्किन गई आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–३ कौशलटार स्थित काठमाडौं काँडाघारी घर भएका खम्ब थापाले सञ्चालन गरेको विजय किराना पसलमा मंगलबार विजुलीको करेन्ट सर्ट भई आगलागी हुँदा करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
ललितपुरको गोदावारी नगरपालिका–११ ताहाखेल बस्ने बासु घिमिरेले सञ्चालन गरेको च्याउ खेतीमा मंगलबार आगलागी हुँदा १३ ओटा च्याउ टनेल पूर्ण रुपमा जलेर करीब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
