पत्रकार महासंघ कोरियाद्वारा क्षमता अभिवृद्धि तालिम
दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्दश्यले पत्रकारिता तालिमको आयोजना गरेको छ । महासंघको ७१ औँ स्थापना दिवस तथा कोरिया शाखा २० औँ वर्षमा प्रवेश गरेको सन्दर्भ पारेर आइतबार एक दिने तालिम दिइएको हो ।
राजधानी सिओलमा आयोजित कार्यक्रममा कोरियामा क्रियाशील नेपाली पत्रकारहरू तथा पत्रकारितामा प्रवेश गर्न इच्छुक सहभागीहरूलाई लक्षित गर्दै विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
प्रशिक्षकहरुले डिजिटल मिडियाको संभावनाबारे जानकारी दिँदै युट्युब कन्टेन्ट निर्माण, प्रवासमा नेपाली पत्रकारिताका अवसर र चुनौती, प्रभावकारी प्रस्तोता कला, पत्रकारिताको आचारसंहिता र डायस्पोरा मिडियाका मुद्दाबारे सहभागीहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो । सो अवसरमा समाचार लेखन र सम्पादन, रिपोर्टिङ सीप र अन्तर्वार्ता लिने तरिका, पत्रकारिताको आचारसंहिता र नैतिकता, प्रभावकारी प्रस्तुति, तथ्य जाँच र भ्रामक सूचनाको पहिचान, अनुसन्धानमूलक पत्रकारिता, फोटो तथा भिडियो पत्रकारिताबारे विस्तृतमा चर्चा गरिएको थियो ।
पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, क्रियाशील पत्रकार बलराम पुडासैनी, प्रकाश धमला, कोकिल पौडेल, रमेश शिवाकोटी र उत्तम खाजुमले तालिमलाई सहजिकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वरिष्ठ उपाध्यक्ष आचार्यले तालिमले पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्नुको साथै पत्रकारितालाई थप व्यावसायिक र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रवासमा क्रियाशील पत्रकारहरुले प्रवासी समुदायको जीवन यथार्थ, श्रम, सामाजिक, कानुनी तथा मानवीय समस्यालाई उजागर गर्दै समुदाय र राज्यबीच महत्त्वपूर्ण सेतुको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।
उनले प्रवासमा नेपाली पत्रकारिताले केवल सूचना सम्प्रेषण मात्र नभई प्रवासीको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने जिम्मेवारीसमेत वहन गर्नुका साथै भाषा, संस्कृति र सामाजिक चेतनाको संरक्षणमा पनि योगदान दिएको उल्लेख गरे ।
तालिमको समापन समारोहमा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् सरोकारवालाहरुले प्रवासमा सक्रिय नेपाली पत्रकारको भूमिका केवल पेशागत नभई सामाजिक उत्तरदायित्वको एक महत्त्वपूर्ण उदाहरणको रूपमा स्थापित भएको बताए । तालिममा एक सय जनाको सहभागिता रहेको महासंघ कोरियाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।
महासंघले आइतबार नै डायस्पोरा मिडिया समिट २०२६ आयोजना गरेको थियो । सो अवसरमा पत्रकार तथा पत्रकारिता क्षेत्र र यसको नेपाली समूदायप्रतिको उत्तरदायित्वमाथि सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा नेपाली राजदूतावासका उपनियोग प्रमुख निर्मलप्रसाद भट्टराई, गैर आवासीय नेपाली संघ कोरियाका संस्थापक अध्यक्ष केपी सिटौला, अध्यक्ष विपिन कुमार गुरुङ, विभिन्न राजनीतिक दलसम्वद्ध व्यक्तिहरु, विभिन्न संघ संगठनका व्यक्तिहरुले धारणा राखेका थिए ।
