नेप्सेमा उच्च वृद्धि, २३ अर्ब बढीको कारोबार; सात कम्पनीमा पोजिटिभ सर्किट

तु खबर संवाददाता
२०८२ चैत्र ८, आईतवार १५:३१
file-photo

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ बिन्दुमा पुगेको छ।

आज विभिन्न सेक्टरका ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा कुमारी बैंक अगाडि रहेको छ, जसको ८५ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेशनल हाइड्रोपावरको ७७ करोड ८७ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७५ करोड २६ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ७२ करोड ९८ लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ७१ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारले यो साता पनि हरियालीलाई निरन्तरता दिएको छ। गत साताको अन्तिम कारोबारमा उच्च अंकले बढेको बजार आइतबार पनि उकालो लाग्दै बन्द भएको हो। यससँगै लगानीकर्तामा उत्साह बढेको छ र बजारमा सकारात्मक लहर देखिएको छ।

आज १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको घटेको छ र ८ कम्पनीको मूल्य स्थिर रहेको छ। माइक्रोफाइनान्स समूह सर्वाधिक ४.२१ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकिङ समूह २.४९ प्रतिशत, विकास बैंक २.४६ प्रतिशत, फाइनान्स २.१३ प्रतिशत र होटल तथा पर्यटन समूह ३.०५ प्रतिशतले बढेका छन्।

यसदिन सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फस्ट इनका शेयरमा पोजिटिभ सर्किट लागेको हो।

हालको राजनीतिक स्थिरताको अपेक्षा, न्यून ब्याजदर र वित्तीय नीतिमा आएको लचकताका कारण बजारमा दीर्घकालीन सकारात्मक संकेत देखिएको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरूमा विश्वास बढ्दै जाँदा बजारमा स्थिर वृद्धि कायम रहने अपेक्षा गरिएको छ।