नेप्से १०.२५ अंकले घट्यो, बजारमा डर र सतर्कता
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घट्दै ओरालो लागेको छ। अघिल्लो कारोबारमा देखिएको सुधार टिक्न नसक्दा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ। बजारमा नयाँ लगानी भित्रिनुको सट्टा ‘पर्ख र हेर’को अवस्था हावी रहँदा थोरै नाफा देखिनासाथ सेयर बुक गर्ने प्रवृत्ति बढेको विश्लेषकहरूले बताएका छन्।
सूचक घट्दा पनि कारोबार रकम उल्लेखनीय रूपमा नबढ्नुले लगानीकर्ताको विश्वास अझै बलियो नभएको संकेत गरेको छ। साना तथा ठूला दुवै खालका लगानीकर्ताबीच डर र सतर्कता बढेको देखिन्छ। बजार विश्लेषकहरूका अनुसार हालको अवस्था पुँजी बजार स्थायित्वका लागि चुनौतीपूर्ण बनेको छ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेका दोस्रो त्रैमासिक वित्तीय विवरणले पनि बजारमा दबाब सिर्जना गरेको छ। केही संस्थाको नाफा, कर्जा विस्तार र सम्पत्ति गुणस्तर अपेक्षाकृत कमजोर देखिएपछि लगानीकर्ताहरू थप सतर्क बनेका हुन्। यसले पुँजी बजारमा डरको वातावरण बढाएको विश्लेषकहरूको भनाइ छ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही समय बजारमा उत्साह देखिए पनि सुधारसँगै नाफा बुकिङ बढ्दा बजार टिकाउ हुन सकेको छैन। यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउँदै लैजानु र पूँजी बजारप्रति उदार नीति अपनाउने प्रयासले निकट भविष्यमा बजारमा सुधारको सम्भावना रहेको विश्लेषकहरूले औँल्याएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा कायम भएको छ। ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो।
आज ११ उपसूचक राताम्य हुँदा इन्भेष्टमेन्ट समूह र अन्य समूहमा मात्रै सामान्य सुधार देखिएको छ। कारोबार भएका कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ। ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर अग्रस्थानमा रहँदै ५६ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, आँखुखोला जलविद्युतको ५१ करोड ४९ लाख, रिडी पावरको ४७ करोड ७४ लाख र राधी विद्युतको ४३ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।
यद्यपि, बजार समग्र रूपमा घटे पनि केही कम्पनीमा सकारात्मक उत्साह देखिएको छ। आइतबार विभिन्न सेक्टरका ८५ कम्पनीको सेयर मूल्य बढ्दा सुपरमाई हाइड्रोपावर, रिडी पावर र खानीखोला हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ। हिमालयन हाइड्रोपावरको सेयर मूल्य ५.३९ प्रतिशत र जोशी हाइड्रोपावरको ४.४९ प्रतिशतले वृद्धि भएको छ।
