पुँजी बजारमा सानो सुधार, कारोबार रकम अझै खुम्चिँदो
काठमाडौँ । लगातार दुई दिनको गिरावटपछि पुँजी बजार आज सामान्य अंकले बढ्दै झिनो सुधारतर्फ उन्मुख भएको छ । अघिल्लो साताको सुरुआतमा देखिएको सुधारले उत्साहित बनेका लगानीकर्ताको मनोबल पछिल्ला दिनमा भने फेरि कमजोर बन्दै गएको देखिन्छ ।
कारोबार रकम क्रमशः खुम्चिँदै जानुले बजारमा लगानीकर्ताको सहभागिता कमजोर भएको स्पष्ट संकेत गर्दछ । नयाँ लगानी भित्रिनुको सट्टा लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा सीमित हुँदा बजारप्रति भरोसा अझै बलियो बन्न नसकेको विश्लेषकहरूको भनाइ छ ।
यसैबीच बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरिरहेका दोस्रो त्रैमासिक वित्तीय विवरणमा केही संस्थाको अवस्था अपेक्षाभन्दा कमजोर देखिएपछि लगानीकर्ता थप सचेत बनेका छन् । नाफा, कर्जा विस्तार तथा सम्पत्ति गुणस्तरसम्बन्धी सूचक कमजोर देखिनुले बजारमा डरको वातावरण सिर्जना भएको छ ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधिसँगै पुँजी बजारमा केही समय नयाँ उत्साह देखिए पनि सुधार देखिनासाथ नाफा बुक गर्ने प्रवृत्ति बढ्दा बजार टिकाउ बन्न सकेन । निर्वाचनपछि बन्ने सरकार, भावी अर्थमन्त्री तथा सरकारले लिने आर्थिक र पुँजी बजारसम्बन्धी नीतिप्रति अझै स्पष्टता नआएकाले लगानीकर्ता अनिश्चित देखिएका छन् ।
यद्यपि आधारभूत रूपमा पुँजी बजारका लागि नीतिगत वातावरण भने क्रमशः सकारात्मक बन्दै गएको छ । राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयले पछिल्लो समय अपेक्षाकृत उदार नीति अवलम्बन गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा रहनुले दीर्घकालीन लगानीका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यही आधारमा निकट भविष्यमा बजारले स्थायित्व लिँदै सुधारको बाटो समाउने चर्चा बजारमा छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५३ अंकले बढेर २६९५.७३ बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।
यस दिन ८ उपसूचक राताम्य भएका छन् । वाणिज्य बैंक समूह ०.०९ प्रतिशत, फाइनान्स समूह ०.८९ प्रतिशत र हाइड्रोपावर समूह ०.१३ प्रतिशतले घटेका छन् । कारोबारका आधारमा ११४ कम्पनीको शेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ ।
आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर, हिम स्टार उर्जा, सान्भी इनर्जी र बन्दिपुरका शेयरमा सर्किट लागेको नेप्सेले जनाएको छ ।
