साहित्यकार निखिललाई स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार

तु खबर संवाददाता
२०८२ माघ १८, आईतवार ०६:०८

साहित्यकार निमेष निखिललाई स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरिने भएको छ । नगद ७५ हजार राशीको सो पुरस्कार नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले निखिललाई प्रदान गर्ने घोषणा गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको नेतृत्वमा बसेको कार्यसमितिको बैठकले कवि तथा साहित्यकार निखिललाई यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । मकवानपुरमा बसेर लेखन कार्यमा सक्रिय निखिल राष्ट्रियस्तरमा परिचित साहित्यकार हुन् ।

यस अघि निखिलले गणेशलाल स्मृति साहित्य पुरस्कार २०८१, युवा वर्ष सम्मानसमेत दर्जनौ पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।

प्रतिष्ठानले अन्य साहित्यकारहरुलाई पनि पुरस्कृत तथा सम्मानित गर्ने निर्णय गरेको छ । अमूल्य राष्ट्रिय कलाश्री सम्मान नाटककार तथा गीतकार मनबहादुर मुखियालाई प्रदान गर्ने निर्णय गरिएको छ । त्यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार कवि, निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’ लाई प्रदान गरिने भएको छ । यसैगरी बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक राजेश खनाललाई, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मिथिला कलाका साधक चित्रकार एस।सी। सुमनलाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार लोकगायिका तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

सो सम्मान तथा पुरस्कारहरू आगामी फाल्गुन ४ गते काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिने संस्थाले जानकारी दिएको छ ।