फुटबल प्रतियोगितामा विवाद नै विवाद, कुटाकुट र रेफ्रीको ज्यादती
-चन्द्र घलान
मकवानपुर, ९ फागुन । पछिल्लो समय फुटबल प्रतियोगितामा ठूलो विवाद हुने गरेको छ । राष्ट्रिय लिग गर्न नसकेर विवादमै फसिरहेको केन्द्रीय स्तर मात्र होईन विभिन्न जिल्लामा समेत यस्तो विवाद आउने गरेको छ ।
पछिल्लो पटक प्रदेश नम्बर ३ को राजधानी मकवानपुरमा फुटबल प्रतियोगिताको चरम विवाद देखियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरमा गएको दशैतिहार अगाडि नै सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता पनि विभिन्न झमेलामा फस्यो । असोज ४ गतेको खेलमा कुटाकुटकै स्थिति आयो । दर्शक देखि खेलाडीसम्मको कुटाकुटमा केही खेलाडी घाईते समेत भए ।
प्रहरीले केहीलाई धरपकट समेत गर्नुपर्ने अवस्था आयो । जिल्ला लिगमा हानाहान भएपछि स्थगित भएको खेल केही हप्तापछि सुचारु भए पनि पनि सक्षम युवा क्लब नेवारपानीले एफसी इन्टरनेटबाट कहिल्यै नखेलाइएको र आर्मीका तर्फबाट खेलाडी खेलाएको भन्दै फुटबल संघलाई पूनः एकपटक विवादको घेरामा तान्यो । क्लबका प्रशिक्षक कुमार बलले जिल्ला लिगको कुनै पनि खेलमा सरिक नभएका र एफसी ईन्टरनेटले दिएको नाममा समावेश नभएका एक खेलाडीलाई खेलाइएको भन्दै विवाद झिकेपछि पत्रकार सम्मेलन गरेरै स्पष्टीकरण गर्नुपर्ने अवस्था आयो ।
सबैभन्दा बढी ३७ टिमको सहभागिता रहेको प्रतियोगिता अन्तिम दिनमा पुरस्कार वितरणका समयमा समेत पत्रकारलाई गरेको सम्मानका विषयलाई लिएर मजाक बन्यो । त्यतिमात्र होईन केही महिना अघि मात्र जिल्ला अधिवेशनका क्रममा समेत मकवानपुर जिल्ला फुटबल संघमा विवादको नाङ्गो नाच देखियो ।
यो घटनालाई राम्रोसँग बिर्सन नपाउँदै मकवानपुरमा फेरि अर्को विवाद भएको छ । हेटौँडामा जारी तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको फागुन ७ गते सुदुरपश्चिम ११ र नेपाल आर्मीबिच भएको खेल बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा गयो । तर त्यसमा सुदुरपश्चिमका तर्फबाट भएको गोललाई बिना कारण रेफ्रीले मान्यता नै नदिएपछि सुदुरपश्चिम ११ ले फागुन ८ गते पत्रकार सम्मेलन गर्दै रेफ्रीलाई हदैसम्मको कारवाहीको माग गरेको छ ।

रेफ्रीलाई कारवाहीको माग गर्दै सुदुरपश्चिम ११ स्पोर्टस् क्लब टोली
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलमा सुदुरपश्चिम ११ का खेलाडीले प्रहार गरेको पेनाल्टी बल गोलपोष्टको रेखाभन्दा भित्र प्रवेश गरिसकेको पनि फिफा रेफ्री सुदिस पाण्डेसहितको रेफ्री टोलीले गोल नदिई एकलौटी ढङ्गबाट नेपाल आर्मीलाई विजयी घोषित गरेको भन्दै सुदुरपश्चिम ११ आक्रोशित बनेको छ ।
साथै यस्ता गतिविधिले नेपालको फुटबल खेल विकासमा समेत प्रत्यक्ष असर पर्ने भन्दै त्यस्ता गलत निर्णय गर्ने रेफ्री र निकायलाई कारवाही गर्नुपर्ने माग गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै सुदुरपश्चिम ११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले नेपालमा पछिल्लो समयमा हुने गरेको फुटबल प्रतियोगिताहरुमा रेफ्रीहरुले डिभिजन ए का टिमको पक्षमा मात्र निर्णय गर्दै आएको र नयाँ टिमलाई सधैँ पछि पार्ने काम गरेको आरोप लगाएका छन् ।

सुदुरपश्चिम ११ र आर्मी बिचको खेल
रेफ्रीको गलत निर्णयपछि उक्त खेलको फुटेजसहित आयोजककहाँ पुगेका अध्यक्ष हमाल सहितको टोलीले गोल भएको प्रमाण स्वरुप भिडियो देखाएर प्रतियोगिता पूनः दोहोराउनुपर्ने माग गरेका थिए । तर आयोजकले गोल भएको स्विकार गरेतापनि रेफ्रीको निर्णय नै अन्तिम हुने भन्दै फागुन ८ गते दिउँसो १ बजेमात्र जानकारी दिएको जनाएका छन् ।
यसरी भएको थियो गोल…
उनले विवादमा फसेका रेफ्री पाण्डे यस अघि पनि विभिन्न विवादमा आएको जानकारी दिएका छन् । उनी गतवर्षको प्रतियोगितामा समेत हातपाइमा परेका थिए । साथै रेफ्री संघको चुनावमा बैठक पुस्तिका समेत च्यातेको आरोप हमालले लगाएका छन् ।
यसरी विविध कारणले विवाद बन्दै गएको प्रतियोगिताहरु अहिले कुरुक्षेत्र जस्तै बनेको छ जहाँ खेलाडी, रेफ्री र आयोजकको भिडन्त पर्छ ।
यसरी भएको थियो जिल्ला लिगमा हानाहान-
https://www.youtube.com/watch?v=1WOi-4syOwM
