लगातार उकालो यात्रामा सुन, नेपाली बजारमा नयाँ कीर्तिमान

तु खबर संवाददाता
२०८२ माघ १२, सोमबार ११:३९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार २०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक हो ।

यता, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २७५ रुपैयाँले बढेर ६ हजार ७६५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारको उतार-चढाव, डलरको मूल्य तथा स्थानीय मागका कारण सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि देखिएको व्यवसायीहरू बताउँछन् ।