निर्वाचन सुनिश्चिततासँगै सेयर बजारमा उत्साह, नेप्से ४२ अंकले उकालो

तु खबर संवाददाता
२०८२ माघ ६, मंगलवार १५:२६

काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा उल्लेखनीय हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२.२६ अंकले बढ्दै २७१४.८१ बिन्दुमा पुगेर बन्द भएको छ ।

आजको कारोबारमा कुल ३३९ कम्पनीका २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहँदै ४० करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ३९ करोड ३ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ३७ करोड ७ लाख रुपैयाँ र एसवाई प्यानलको २६ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा आज ऐतिहासिक कारोबार देखिएको विश्लेषकहरूको भनाइ छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुनिश्चित भएसँगै बजारमा उत्साह बढेको हो । लामो समयदेखि राजनीतिक अन्यौलका कारण ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता पुनः सक्रिय बन्दै बजार प्रवेश गर्न थालेका छन् ।

निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूले मंगलबार मनोनयन दर्ता गरेसँगै चुनाव तोकिएकै मितिमा हुने स्पष्ट संकेत देखिएको छ । यही सुनिश्चितताले बजारमा विश्वास बढाएको र नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको देखिन्छ ।

पुस मसान्तको वित्तीय दबाब समाप्त हुनु, बैंक ब्याजदर घट्दो क्रममा रहनु र शेयर धितो कर्जामा आकर्षण बढ्नुले पनि बजारलाई थप टेवा पुर्‍याएको छ । विश्लेषकहरूका अनुसार हाल शेयर बजारका लागि आवश्यक नीति तथा सूचकहरू अनुकूल अवस्थामा रहेकाले आगामी दिनमा पनि सकारात्मक प्रवृत्ति कायमै रहने अपेक्षा गरिएको छ ।

मंगलबार १३ वटै उपसूचक हरियालीमा रहे । वाणिज्य बैंक समूह १.२४ प्रतिशत, विकास बैंक समूह १.४५ प्रतिशत, फाइनान्स समूह ०.९७ प्रतिशत तथा होटल तथा पर्यटन समूह ३.३६ प्रतिशतले बढेका छन् ।

यसदिन २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । निर्वाचन सुनिश्चितता र आर्थिक सूचकहरूको सकारात्मक संकेतले सेयर बजारमा पुनः चमक फर्किएको स्पष्ट देखिन्छ ।