महोत्सवमा भयो पाँच करोडको कारोबार

तु खबर संवाददाता
२०७४ फाल्गुन ८, मंगलवार १५:२९

रामपुर, पाल्पा, ८ फागुन । तानसेनमा जारी ‘१२औँ पाल्पा महोत्सव तथा व्यापार मेला’मा अहिलेसम्म रु पाँच करोड ५० हजार बराबरको कारोबार भएको छ ।

सोमबार मेलाको पाँचौँ दिनसम्म करिब एक लाख दर्शकले अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाँचौँ दिनसम्म आइपुग्दा सबैभन्दा बढी लत्ताकपडा र होटल रेष्टुरेण्टको कारोबार भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको मेलामा ४०० व्यापारिक कक्ष रहेको छ । मेला अवधिभर रु दश करोड बराबरको कारोबार गर्ने तथा तीन लाख दर्शक भित्र्याउने अपेक्षा गरेको मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।

‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ नाराका साथ गत फागुन ३ गतेदेखि शुरु भएको महोत्सव आउँदो फागुन १३ गतेसम्म चल्नेछ । महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी, धार्मिक तथा ऐतिहासिकस्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, टर्की चरा, उँट, अस्ट्रिज चरा, भूकम्प प्रतिरोधी घर निर्माणको प्रदर्शनी, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*