ग्रेटर नेपालको एजेण्डा लिएर चुनाव उठ्ने फणिन्द्र नेपालको घोषणा
काठमाडौं । ग्रेटर नेपालको एजेण्डा लिएर दशकौंदेखि सक्रिय फणिन्द्र नेपालले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र १ बाट चुनाव उठ्ने घोषणा गरेका छन् । ३५ वर्षदेखि ग्रेटर नेपालको अभियानमा एक्लै हिडेका उनले पहिलो पटक स्वतन्त्र रुपले चुनाव लड्ने घोषणा गरेका हुन् ।
देशको सार्वभौमसत्ता निहित रहेको संसदमा ग्रेटर नेपालको आवाज उठाउँने उद्देश्यले चुनावमा हेमिएको उनले बताएका छन् ।
चुनावी प्रतिस्पर्धाका हिसावले पनि काठमाडौं क्षेत्र नम्बर १ निकै महत्वपूर्ण ठाउँ हो । यस क्षेत्रबाट गत चुनावमा राष्ट्रिय प्रजातन्त्र पाटीका रबिन्द्र मिश्रलाई हराउँदै काँग्रेसका नेता प्रकाशमान सिंहले चुनाव जितेका थिए ।
अभियन्ता नेपालले २०७५ सालमा स्वीटजरल्यान्डको जेनेभा पुगेर ग्रेटर नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरेका थिए । जेनेभाको सम्बोधनमा उनले सुगौली सन्धीमा नेपालबाट भारतमा गाभिएका ६० हजार किलोमिटर भूभाग फिर्ता हुनुपर्ने कुरा उठाएका थिए ।
