नेप्से सामान्य अकंले उकालो, लगानीकर्ताको मनोबल कमजोर

तु खबर संवाददाता
२०८२ पुष ९, बुधबार १५:२७
file-photo

काठमाडौँ । निरन्तर घट्दो क्रममा रहेको शेयर बजार पछिल्लो दुई कारोबार दिनमा सामान्य अकंले उकालो लागेको छ । यद्यपि बजारले स्पष्ट दिशा लिन नसक्दा अधिकांश लगानीकर्ताको मनोबल कमजोर नै देखिएको छ । लगातारको उतार-चढावले नाफा कमाउने अपेक्षामा रहेका लगानीकर्तामा दबाब बढाएको छ भने नयाँ लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’को अवस्थामा छन् ।

नेप्से सूचक हाल २५०० देखि २६०० बिन्दुको सीमाभित्र सीमित उतार-चढाव गरिरहेको छ । बजारमा स्पष्ट ट्रेन्ड नदेखिँदा लगानीकर्ताको आत्मविश्वास कमजोर बनेको छ । यही कारण कारोबार रकम पनि अपेक्षाकृत न्यून देखिएको छ ।

ब्याजदर क्रमशः घट्दै गए पनि यसले शेयर बजारमा अपेक्षित उत्साह ल्याउन सकेको छैन । लगानीकर्ताहरू अझै स्पष्ट नीति, प्रभावकारी नियमन र स्थिर राजनीतिक वातावरणको प्रतीक्षामा छन् । जबसम्म बजारले विश्वासको आधारसहित स्पष्ट दिशा लिन सक्दैन, हाल देखिएको निराशाजनक अवस्था सहजै सुधार हुने संकेत देखिँदैन ।

यसैबीच, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १.३७ अकंले बढेर २५८५.८७ बिन्दुमा पुगेको छ । आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

कारोबारका क्रममा ७ उपसूचक राताम्य भएका छन् भने ६ उपसूचकमा सामान्य सुधार देखिएको छ । आज १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।