खड्काको एकल कविता प्रस्तुत

तु खबर संवाददाता
२०७४ फाल्गुन ८, मंगलवार १२:४२

नवलपरासी, ८ फागुन । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले सोमबार एकल कविता प्रस्तुत गर्नुभएको छ ।

सिर्जन साहित्य प्रतिष्ठान नवलपुरको आयोजनामा देवचुली–१३ दलदलेस्थित होटेल हातेमालो इनको हलमा प्रस्तुत हुनुभएका खड्काले एक दर्जन कविता सुनाउनुभयो ।

‘आमा तिम्रो सम्झना’मा कविताबाट वाचन शुरु गर्नुभएका खड्काले ‘म प्रेम गर्छु’, ‘डाँडाको लाकुरी’ र ‘ब्वाँसा र कुकुरहरू’, ‘आमा जस्ती दिदी’, ‘भन तिमी के गर्छौं रु’, ‘पीडाका बाकसहरु’ र ‘प्रेमपत्र’ शीर्षकका कविता सुनाउनुभयो ।

प्रतिष्ठानको नियमित कार्यक्रमअन्तर्गत राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उपस्थित भएका कविता पारखीले खड्काका कविताको भरपुर आनन्द लिए ।

कविताका हरफमा एमबी दाइ भनेर परिचित मानबहादुर खड्का पहिलोपटक एकल कविता वाचनमा उभिनुभएको हो । विज्ञान पढ्नुभएका खड्का देवचुली नगरपालिकाका कार्यकारी अधिकृत हुनुहुन्छ ।

दोलखा घर भएका खड्काले ‘प्रेम’, ‘मातृस्नेह’, ‘राजनीति, दर्शन’, ‘समसामयिकता’ लगायतका विविध आयाममा लेखिएका कविता सो अवसरमा सुनाउनुभयो ।

यसैगरी, कार्यक्रममा लेखराम सापकोटाले कवि खड्काको ‘उडान जिन्दगीको’ कविता वाचनमा सहयोग गरेका थिए । स्रस्टाहरु दीपक सोती, सञ्जय भट्टराई, दुर्गा भुसाल र गंगा लामिछानेले पनि कार्यक्रमको बीचमा कवि खड्कालाई सम्मानस्वरुप आफ्ना रचना सुनाए ।

कार्यक्रममा सदानन्द जैसी, कृष्णादेवी शर्मा, सरोज उजाड, सुजन अधिकारी, टीका सापकोटा, दीपक भट्टराई, अर्जुन अविरललगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रमको सञ्चालन सो कार्यक्रमका संयोजक आदर्श सुशीलले गरेका थिए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*