बिहानैबाट हेटौंडामा सडक विस्तार कार्य सुरु
डिभिजन सडक कार्यालय हेटौंडाले शनिबार बिहानदेखि सडक विस्तार कार्य सुरु गरेको छ ।
सुरक्षाकर्मीहरुको व्यापक परिचालनका साथ रेखाकंनभित्र परेका संरचनाहरु हटाउन सुरु गरिएको हो र यो निरन्तर चल्ने डिभिजन सडक हेटौंडाले जनाएको छ । तीन चार ठाउँबाट एकैपटक काम सुरु गरिएको छ।
सडक कार्यालयले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक विस्तारका लागि १५ दिने सूचना निकालेको थियो । सोही सूचनामा उल्लेख भए अनुसार आजबाट कार्यान्वयन सुरु भएको हो ।
उचित मुआब्जा र क्षतिपूर्ति दिएर मात्र सडक विस्तार कार्य अघि बढाउन घरधनीहरुले माग गरेका थिए । तर, यसमा सुनुवाई भएन र आज बिहानैबाट घर संरचना भत्काउने कार्य अघि बढेको छ ।
यसभन्दा अघि पनि हेटौंडामा सडक विस्तार कार्य भएको थियो । तत्कालिन क्षेत्रीय प्रशासक विनोद केसीको पहलमा विस्तार कार्य गरिएको भएपनि राजनीतिक दबाब पछि उनको सरुवा गराइएको थियो ।

