काठमाडौं सडक डिभिजनले तोड्यो २५ रुग्ण ठेक्का

तु खबर संवाददाता
२०८२ मंसिर १, सोमबार १०:४२
file-photo

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले लामो समयदेखि अलपत्र परेका २५ रुग्ण ठेक्का तोडेका छ । आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्म सम्झौता भएका तर काम नगरी आयोजना अधुरै छोडेका ठेकेदारका ठेक्का सोमबारबाट औपचारिक रूपमा समाप्त गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिएपछि सडक विभागअन्तर्गतका कार्यालयहरूले रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका थिए।

सडक डिभिजन काठमाडौँले गत कात्तिक ११ गते २५ निर्माण व्यवसायीलाई ‘किन ठेक्का नतोड्ने ?’ भनी स्पष्टीकरण मागेको थियो। कानूनी प्रावधानअनुसार अब ती ठेकेदारलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत, धरौती, पेश्की जमानत जफत गर्ने र पेश्की रकमको १० प्रतिशत ब्याजसहित असुल गर्ने प्रक्रिया अघि बढाइने डिभिजनका प्रमुख देवकोटाले बताएका छन्। बाँकी कामका लागि लाग्ने खर्च सरकारी बाँकीसरह असुल गर्ने तयारीसमेत गरिएको छ।

निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित भएर स्पष्टीकरण दिन निर्देशन दिइएको सडक डिभिजनले जनाएको छ।