वाणिज्य बैंकहरूको मुनाफा गत वर्षको तुलनामा दोहोरो अंकको कमी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासम्म (साउनदेखि असोज) मा वाणिज्य बैंकले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार मुनाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो ।बैंकहरुको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को तुलनामा भने दोहोरो अकंले घटेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा वाणिज्य बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख ५८ हजार रुपैयाँ नाफा कमाएका थिए ।
यसअवधिमा १५ बैंकको नाफा घटेको छ भने ५ बैंकको मात्रै बढेको छ । ५ बैंकको मुनाफा भने अर्ब क्लबमा रहेको हो ।सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले तीन महिनाको अवधिमा आफ्नो मुनाफा २२.९२ प्रतिशतले बढाएर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १४.५७ प्रतिशतले कम हो ।यता, प्राइम बैंक सर्वाधिक नाफा आर्जन गर्ने सूचीको तेस्रो नम्बरमा रहेको छ । समिक्षा अवधिमा प्राइमले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २.२० प्रतिशतले कम हो ।
धेरै नाफा आर्जन गर्ने चौथो नम्बरमा रहेको एभरेष्ट बैंकको ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ लाख र पाँचौ नम्बरमा रहेको कुमारी बैंकको २ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।यसअवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने सरकारी कम्पनी राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले आफ्ना नाफा २९५ प्रतिशतले बढाएर ५९ करोड ८७ लाख रुपैयाँ पुराएको हो ।
