तिहार नजिकिँदै गर्दा शेयर बजारमा गिरावट
काठमाडौँ । हिजो केही सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । तिहार नजिकिँदै गर्दा ब्याज तिर्ने र चाडपर्वका खर्चका लागि लगानीकर्ताहरूले शेयर बिक्रीमा लागेपछि बजारमा थप दबाब आएको हो । नियामक निकायका सकारात्मक प्रयास र नीतिगत सुधारहरू भए पनि तत्काल बजारलाई स्थायित्वमा फर्काउन कठिन देखिएको छ ।
बैंकहरूको लगानी क्षमता बढाउने, शेयर धितो कर्जाको सीमा हटाउने र दोस्रो बजारमा लगानी सहज बनाउने सरकारी निर्णयहरू दीर्घकालीन रूपमा लाभदायक हुने देखिए पनि हालको बजार परिस्थितिमा त्यसको तत्काल प्रभाव देखिन सकेको छैन । बजारमा सुरुवातदेखि नै देखिएको भारी गिरावटले लगानीकर्ताहरू आत्तिएर शेयर बिक्रीमा उत्रिएका छन्, जसले बजारलाई अझ गहिरो राताम्य बनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.४३ अकंले घटेर २५२८.१६ बिन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.८२ प्रतिशत, विकास बैंक समूहको १ प्रतिशत, फाइनान्स समूहको १.४० प्रतिशतले शेयर मूल्य घटेको छ ।
