मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
-चन्द्र घलान
मकवानपुर, ७ फागुन । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय मात्र नभइ जनमतको ठाडै उल्लङ्घन गर्नु हो । जनताको मतको दुरुपयोग गर्दै जनतालाई नै दुःख दिने खेल खेल्नु अनैतिक समेत हो । यस्ता कार्यहरु जनप्रतिनिधिहरुले कहिल्यै पनि गर्नु हुँदैन । तर प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा जनताकै विरुद्धमा ३ वडाका वडा अध्यक्षहरु खनिएका छन् ।
शिवम् सिमेण्टको खानीका कारण विभिन्न समस्या झेलिरहेका स्थानीयले गएको शुक्रबार शिवम सिमेन्ट उद्योगको मकवानपुरगढीस्थित खानी संचालनमा रोक लगाएका थिए । पटक पटक जन दवाब दिँदा पनि उद्योगले सहमति कार्यान्वयन नगरेको र सार्वजनिक सुनुवाईको तयारी समेत गर्दै स्थानीयले शिवमको खानी बन्द गरिदिएका थिए । साथै खानी सम्म पुग्ने टिफरहरुलाई बाटोमै रोक्न बाटोमा अवरोध सिर्जना गरेका थिए

फाईल फोटो, शुक्रबार भएको सार्वजनिक सुनुवाईको पूर्व तयारी सम्बन्धी छलफल
शुक्रबार शिवम सिमेन्ट खानी प्रभावित वस्ति संरक्षण एवं ब्यवस्थापन सरोकार समितिले सार्वजनिक सुनुवाई पूर्वतयारी भेला मकवानपुर गढीगाउँपालिका वडा नम्बर ६ मा सम्पन्न गरेको थियो । प्रभाव न्यूनिकरण तथा सहमति कार्यान्वयनका लागि दवाव दिने उदेश्यका साथ सार्वजनिक सुनुवाई गर्ने तयारीका लागि सरोकारवालाको भेला आयोजना गरिएको दुई दिनमा नै मकवानपुरगढीको वडा नम्बर २, ७ र ८ को कार्यालयले सिमेन्टको खानी बन्द गर्ने र सडक अवरोध नै गरेर सवारी साधनलाई समेत हिँड्न नदिएको भन्दै मकवानपुरगढी गाउँपालिकाका ३ वडा कार्यालयबाट ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरेको छ ।
आइतबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै तिन वडा कार्यालयले आप्mनो कार्यक्षेत्रभित्र सडकमा आन्दोलन गरी यातायात संचालनमा अवरोध गरेको र त्यस क्षेत्रमा रहेको खानी संचालनमा अवरोध गरेको भन्दै वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएका हुन् । वडामा कुनै समस्या भए वडा कार्यालयको समन्वयमा समाधान गर्न सकिने बताउँदै खानीको गतिविधि र सवारी संचालनमा अवरोध नगर्न विज्ञप्तिमा भनिएको छ ।
२ नम्बर वडाका अध्यक्ष बखानसिं पाख्रिन, ७ नम्बरका वडा अध्यक्ष सूर्यबहादुर रुम्बा र ८ नम्बरका वडा अध्यक्ष कुमारसिं घिसिङले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वडा कार्यालयको समन्वय विना हुने कानून विपरितका गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कुनै समस्या भए समाधानका लागि वडा कार्यालयमार्फत समाधानका लागि आव्हान गर्दै विज्ञप्ति सार्वजनिक गरेको हो ।
विज्ञप्ति हेर्दा शिवम् सिमेन्ट र त्यसका संचालकहरु विवादमा आउने कुरालाई समेत ढाकछोप गर्न ३ वटै वडा कार्यालयले शिवम् सिमेन्टको नासम्म पनि लेखेका छैनन् । बस्ती संरक्षणका नाममा भन्दै सांकेतिक शब्दको उनीहरुले प्रयोग गरेका छन् । ३ वटा वडा कार्यालयले एकै दिन उही प्रकृतिका विज्ञप्ति जारी गर्नुले नै यो नियोजित, प्रायोजित भएको र जनता तथा गाउँपालिकालाई समेत वडाले ठाडै चुनौति दिएको देखिएको स्थानीयहरु बताउँछन् ।
स्थानीय जनता मारमा परेको बेला मलमपट्टी लगाउनुपर्ने वडाले वडावासीकै विरुद्धमा विज्ञप्ति जारी गर्नु जनताको अपमान भएको स्थानीयहरु बताउँछन् । स्थानीयहरुले लोभमा र कुनै शक्तिको आडमा त्यस्तो विज्ञप्ति आएको हुनसक्ने बताएका छन् । उनीहरुले ती वडा अध्यक्षहरुको विरुद्धमा आन्दोलन गर्ने पनि प्रष्ट देखिएको जानकारहरु बताउँछन् । साथै सार्वजनिक सुनुवाईलाई विफल बनाउने र शिवमलाई मनलाग्दी गर्न दिने मनसायका साथमा केही गुट लागेको पनि आरोप लगाइएको छ ।
शुक्रबार भएको भेलामा स्थानीय खानी प्रभावित पीडितहरुले विना अनुमति दुर्लभ मानिएका बनस्पतिहरु पाँचऔले, रक्तचन्दन, दालचिनी ओखर जस्ता वनस्पति रहेको बनक्षेत्र समेत शिबमले अतिक्रमण गरेको आरोप लगाइएको थियो । मकवानपुर जिल्लाकै उच्च रहेको स्थान बुर्जालेकमा भ्यू टावर निर्माण गरि देशका थुप्रै जिल्लाको दृश्यावलोकन गर्न सकिने स्थानमा खानी उत्खनन गर्न दिएर भु–प्राकृतिक पर्यटकीय स्थानलाई समेत ध्वस्त पार्न प्रशासनको पनि मिलेमतो रहेको समितिको आरोप छ ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमगाईले आफुहरु जनताको पक्षमा भएको दाबी गर्दै खानी सञ्चालनमा आउनु सबैको आर्थिक समृद्धि भएको तर खानीबाट निस्केका समस्या उद्योगले नै समाधान गर्नुपर्ने हुँदा त्यसका लागि गाउँपालिकाबाट कुनै कसुर बाँकी नराख्ने बताउँदै आएका छन् ।
