राष्ट्र बैंकको नयाँ व्यवस्था: सुन र विप्रेषणमा सहजता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म मात्र आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत परिपत्र २०८१ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो।
केन्द्रीय बैंकको नयाँ निर्णयअनुसार अब नेपाली तथा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयहरूले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत फिर्ता नहुने रकम विदेशबाट इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्न सक्नेछन्।
यससँगै यस्तो विप्रेषण रकमको सीमा पनि बढाइएको छ। अब दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटक–पटक) रकम ल्याउन सकिनेछ। यसअघि यो सीमा २० लाख रुपैयाँसम्म मात्र थियो। नयाँ व्यवस्थाले व्यवसायिक कारोबार र सेवाका प्रयोजनमा वैदेशिक भुक्तानीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन तथा भुक्तानी गर्दा प्रचलित कानुनी व्यवस्थाबमोजिम ग्राहकको पहिचानसम्बन्धी कागजात अनिवार्य रूपमा लिने व्यवस्था पनि स्पष्ट पारेको छ।
त्यस्तै, विप्रेषणको विवरण प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभाग, सुपरिवेक्षण विभाग तथा आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
