नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब रुपैयाँ आम्दानी
काठमाडौं । नेपालले हाल दैनिक औसतमा एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार देशभित्र आवश्यक खपत पूरा गरेपछि बाँकी विद्युत् भारत र बंगलादेशमा बिक्री भइरहेको हो।
चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ। भारतको ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे–अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री भइरहेको छ। साथै, हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौतामार्फत पनि मध्यम अवधि (मिड–टर्म) को विद्युत् आपूर्ति भइरहेको छ।
त्यसैगरी, भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतसँगको व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार भारत र बंगलादेश गरी कुल ११६५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त भएको छ। विद्युत् बिक्रीबाट देशले भारु र डलर दुवैमा उल्लेख्य आम्दानी गरिरहेको छ।
