सुशीला कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् । कार्कीलाई संविधानको धारा ६१ अनुसार नेपालको प्रधानमन्त्री नियुक्त गरिएको हो । यद्यपी यो धारामा सरकार गठनसम्बन्धी कुनै व्यवस्था छैन । यस अघि गठन हुँदै आएका सरकारहरु संविधानको धारा ७६ अनुसार हुँदै आएका थिए । धारा ६१ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था छ ।
जेन जी पुस्ताले भ्रष्टाचार रोकिनुपर्ने एजेण्डासहित आन्दोलन सुरु गरेपछि त्यसले सरकार परिवर्तन मात्रै होइन, संसद् नै विघटन गर्नुपर्ने अवस्था बनेपछि सरकारको नेतृत्व कार्कीको हातमा परेको हो ।
आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु भएको छ भने देशका मुख्य प्रशासनिक केन्द्र सिंहरदरबार, राष्ट्रपति भवन, संघीय ससद् भवनसमेतमा आगजनी भएको थियो । आगजनी र प्रदर्शनका कारण देशको अर्बौको सम्पत्ति जलेर खरानी भएको छ ।
सरकार बिहीन अवस्था आएपछि नेपाली सेनाको पहलमा जेन जी आन्दोलनकारी र अन्य पक्षहरुसँग वार्ता भइरहेको थियो । वार्तामा जेन जीका तर्फबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन सबै पक्ष सहमत भएका थिए ।
तर, कार्कीले संसद् विघटन गर्नुपर्ने अडान राखेपछि देशको वर्तमान अवस्थाको मध्यनजर गर्दै राष्ट्रपति पौडेल संसद् विघटन गर्न सहमत भएका हुन् ।