हेटौँडा सिमेन्ट उद्योगमा लफडा : सेक्युरिटी मजदुरको माग पूरा गराउन थप ३० दिने अल्टिमेटम
मकवानपुर, ६ फागुन । हेटौँडा सिमेन्ट उद्योगमा विभिन्न लफडा सुरु भएको छ । कहिले खानी बन्द हुने त कहिले मजदुर आन्दोलनमा उत्रने भएपछि लफडा सुरु भएको हो । यसैबिच हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत सेक्युरिटी तथा सिभिल मजदुरहरुले आफ्ना तीन सुत्रीय माग पूरा गराउन सरोकारवा पक्षलाई थप ३० दिने अल्टिमेटम दिएका छन् ।
खानी महाशाखा ओखरे तथा भैंसे खानीमा कार्यरत मजदुरहरुको संघर्ष समितिले विज्ञप्ति निकालेर अल्टीमेटमको समय ३० दिन थप गरिएको जानकारी गराएको हो । यसअघि संघर्ष समितिले मजदुरहरुको माग सम्बोधनका लागि उद्योगको प्रशासन पक्ष तथा सरोकारवालाहरुलाई ३५ दिने अल्टीमेटम सहित ज्ञापन पत्र दिएको थियो । माग सम्बोधन नभएपछि समितिले पुनः समय थप गरिएको र मजदुरका माग सम्बोधनका लागि ध्यानाकर्षण गराएको छ ।
हेटौंडा सिमेन्ट उद्योगको खानी क्षेत्रमा काम गर्ने मजदुरलाई कर्मचारी नियुक्ति गर्दा पहिलो प्राथमिकता दिने विषयमा विगतमा भएको सहमति कार्यान्वयन गर्न संघर्ष समितिले माग गरेको छ । त्यसैगरी सेक्युरिटीमा अन्य कम्पनीबाट भन्दा पनि हेटौंडा सिमेन्ट उद्योगबाट नै राखिनुपर्ने र श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्नुपर्ने माग राखिएको छ ।
