प्रदेश नं ५ को उपसभामुखमा थारुको उम्मेदवारी

तु खबर संवाददाता
२०७४ फाल्गुन ५, शनिबार १५:०५

बुटवल, ५ फागुन । प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारुले आज प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०का साझा उम्मेदवारका रुपमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । थारु एमालेबाट प्रदेशसभा सदस्य हुनुहुन्छ ।

उहाँको प्रस्तावकमा नेकपा एमालेका प्रदेश प्रमुख सचेतक भूमिश्वर ढकाल तथा समर्थकमा माओवादी केन्द्रका प्रदेश प्रमुख सचेतक दधिराम न्यौपाने हुनुहुन्छ ।

आइतबार हुने उपसभामुख निर्वाचनका लागि प्रदेशसभा सचिवालयले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकेको छ । प्रदेशसभाको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको छ । अहिलेसम्म कृष्णीको मात्रै उम्मेदवारी परेको जनाएको छ ।

संविधानमा सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ ।

कमैया तथा कम्लहरी महिलाको मुक्ति एंव अधिकारका लागि करिब दुई दशकदेखि अगुवाइ गर्दै आएकी बर्दिया राजापुर नगरपालीकाकी कृष्णी बाल्यकालदेखि नै जमिन्दारको घरमा कम्लहरीको रुपमा काम गर्नुभएको थियो । उहाँको विवाहपछि पनि जमिन्दारको घरमा परिवारसहित कमैयाको रुपमा काम गर्नुभएको थियो ।

विसं २०५७ साउन २ गते सरकारले कमैया कम्लहरी मुक्त भएको घोषणा गरेसँगै उहाँको परिवार पनि मुक्त भएको हो । सरकारले कमैयामुक्त गर्दा मुक्तकमैयालाई पहिचान नदिएको भन्दै उनी विभेद् विरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निःशुल्क शिक्षा लगायतका माग राख्दै निरन्तर आन्दोलनको अगुवाइ गर्दै आएकी थिइन् ।

उम्मेदबारी दर्तापछि नेतृ थारुले आफूले उपसभामुख पदको मर्यादित ढंगले जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रदेश नं। ५ को समृद्धिका लागि सम्पूर्ण दलसँग सहकार्य र समन्वय गरेर अगाडि बढने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि उपसभामुख पदमा उम्मेदवारी दिने तयारीमा छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*