गोरखा परिवार दक्षिण कोरियाको १३ औं अधिवेशन: आपसी समन्वयमा जोड

तु खबर संवाददाता
२०८२ भाद्र १, आईतवार १३:२३

दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको १३ औं अधिवेशन आज सम्पन्न भएको छ ।

प्रवासी भुमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ कोरियामा सक्रिय संस्थाको रुपमा परिचित गोरखा परिवार दक्षिण कोरियाले आफ्नो अधिवेशन सुवनस्थित भेटघाट रेष्टुरेण्टमा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ एनआरएनए दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले प्रवासमा रहेका सम्पूर्ण संघ संस्थाहरुले आपसी समन्वय गर्दै नेपालीहरुको हितका गतिविधिमा केन्द्रित हुनुपर्ने बताइन् । त्यसका लागि आवश्यक सहयोग समन्वय गर्न गैर आवासीय नेपाली संघ तयार रहेको उनले बताइन् ।

उनले आफूले भर्खरै मात्र एनआरएनएको नेतृत्व सम्हालेको भन्दै कोरियास्थित सम्पूर्ण नेपालीहरु एवम् संघसस्थाहरुको सल्लाह सुझाव एवम् सहयोगको अपेक्षा गरिन् । आगामी दिनमा नेपालीहरुसंग अझै धेरै समन्वय गर्दै नेपालीकै हितका लागि काम गर्ने उनले बताइन् ।

त्यस्तै अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा गोरखा परिवार दक्षिण कोरियाले सार्वजनिक हितका लागि गरेका उदाहरणीय कामहरुको स्मरण गर्दै कार्यकाल समन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा कोरियामा भौगोलिक, जातीय, सांस्कृतिक एवम् सामाजिक संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।

उनीहरुले मन्तव्यको क्रममा भिभिन्न संस्थाबीच आपसी समन्वय बढाउनूपर्नेमा जोड दिए । प्रवासमा रहेका संगठनहरु नेपालीको हितका लागि केन्द्रित हुनुपर्ने उनीहरुको धारणा थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार बुद्धिप्रसाद नेपाल, संरक्षक नबराज भट्टराई, खेमराज देवकोटालगायत भिभिन्न तवरबाट संस्थाको हित प्रवर्द्धनका लागि योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई महासचिव अशोक खड्काले सहजीकरण गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष देवि गौतमले बाह्रौं कार्यसमितिको कार्यकाल पूरा भइसकेकोले आजै नयाँ कार्यसमितिसमेत चयन गरिने जानकारी दिए ।
सन् २००२ मा स्थापित यस संस्था गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्दै विभिन्न पेशा, व्यवसाय तथा रोजगारीका लागि कोरियामा रहेकाहरूलाई एकतावद्ध गर्दै सामाजिक तथा परोपकारी क्रियाकलापहरुमा सक्रिय छ ।