प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन विदेश सचिव मिश्री काठमाडौं आउदै

तु खबर संवाददाता
२०८२ भाद्र १, आईतवार ०८:३८

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज दिउँसो काठमाडौं आइपुग्दैछन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रण दिन नेपाल आउँदैछन् ।

मिश्री भारतीय वायुसेनाको विमानमार्फत दिउँसो १ बजे काठमाडौं ओर्लिने कार्यक्रम रहेको छ । आगमनपछि उनले समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा लगायतका उच्चपदस्थ व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी भइरहेको छ । यसअघि नै तय भएको उच्चस्तरीय आदान–प्रदानलाई निरन्तरता दिने उद्देश्यले मिश्रीको यसपटकको भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ ।

भ्रमणका क्रममा नेपाल–भारतका परराष्ट्र सचिवबीच साझेदारीका विभिन्न पक्षमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भदौ १ देखि २ गतेसम्म हुने मिश्रीको नेपाल बसाइँले दुवै देशबीचको आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास लिइएको छ ।