दुर्घटनापछि यति एयरलाइन्स पुनः लयमा

तु खबर संवाददाता
२०८२ श्रावण २८, बुधबार १२:३६

काठमाडौँ — १५ जनवरी २०२३ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि केही समय आर्थिक रूपमा दबाबमा परेको कम्पनी अहिले पुनः लयमा फर्किएको छ। सन् २००२ मा स्थापना भएको यति एयरलाइन्सले आन्तरिक हवाई सेवा क्षेत्रमा करिब १७ प्रतिशत बजार हिस्सा ओगटी देशको दोस्रो ठूलो घरेलु विमान सेवा प्रदायकको हैसियत कायम राखेको छ।

हाल कम्पनीले ७ वटा एटीआर–७२ विमान सञ्चालन गर्दै आएको छ, जसमा ६ वटा आफ्नै स्वामित्वमा र १ लिजमा रहेका छन्। एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको ४६.८२ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ प्रतिशत हिस्सेदारी रहेको छ।

विमान दुर्घटना, टिकटमा मूल्य अभिवृद्धि कर लागू र आर्थिक मन्दीका कारण २०२२ मा २१ प्रतिशत र २०२१ मा २३ प्रतिशत रहेको बजार हिस्सा घटेर २०२३ मा १७ प्रतिशतमा झरेको थियो। तर, पर्यटन क्षेत्रको पुनःउत्थान र दुई नयाँ विमान थपिएसँगै कम्पनीले २०२४ मा तीव्र पुनःउठान देखाएको छ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामै कम्पनीले ४ अर्ब ११ करोड ७० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको वार्षिक कारोबार बराबरको हो। यसअघि २०८०/८१ मा ४ अर्ब २५ करोड ८० लाख, २०७९/८० मा ३ अर्ब ७७ करोड ५० लाख, २०७८/७९ मा ३ अर्ब ९२ करोड र २०७७/७८ मा १ अर्ब ३९ करोड ६० लाखको कारोबार भएको थियो।

वित्तीय सूचकमा समेत यति एयरले सुधार गरेको छ। ईबिट्डा मर्जिन २०७८/७९ मा २९.६१ प्रतिशत रहेकामा हाल २५.६२ प्रतिशत छ। करेन्ट रेसियो २०७७/७८ मा ०.४८ बाट बढेर हाल ०.९५ पुगेको छ। ओभरअल गियरिङ रेसियो २०७९/८० मा ४९.८१ गुणाबाट घटेर चालु वर्षमा ३.६१ गुणामा झरेको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यति एयरलाइन्सलाई करिब साढे ६ अर्ब रुपैयाँ बराबरको कर्जाका लागि दीर्घकालीन कर्जा (एनपीआर २ अर्ब ९५ करोड ८३ लाख) र अमेरिकी डलर कर्जा (यूएसडी २ करोड ७१ लाख) मा ‘आईआरएन ट्रिपल बी माइनस’ र अल्पकालीन बैंक सुविधामा ‘आईआरएन ए थ्री’ रेटिङ दिएको छ।

अध्यक्ष सोनाम शेर्पाको ५० वर्षभन्दा बढीको पर्यटन अनुभव, प्रबन्ध निर्देशक चन्दा शेर्पा, उप–प्रबन्ध निर्देशक नोर्बु छिरिङ शेर्पा र सीईओ सुवास सापकोटाको नेतृत्वमा कम्पनीले सेवा विस्तार र यात्रु वृद्धि गर्दै आन्तरिक हवाई बजारमा आफ्नो उपस्थिति मजबुत बनाइरहेको छ।