नेपालबाट थप २०० मेगावाट विद्युत् खरिद गर्न भारतको अनुमति

तु खबर संवाददाता
२०८२ श्रावण २७, मंगलवार १६:२३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि अनुमति दिएको छ। यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली भारत पठाइनेछ।

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातको स्वीकृति दिएको थियो। हाल थपिएको अनुमति सहित नेपालबाट भारतमा १,०११ मेगावाट निर्यातको बाटो खुलेको छ। यस्तै, नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत् पठाउँदै आएको छ, जसअनुसार कुल निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हाल स्वीकृत २०० मेगावाट विद्युत् निर्यातको अनुमति आगामी ३१ अक्टोबरसम्म कायम रहनेछ। गत आर्थिक वर्ष ०८१/८२ मा भारतलाई विद्युत् निर्यातबाट १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ।