पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन

तु खबर संवाददाता
२०७४ फाल्गुन ४, शुक्रबार १२:३९
file photo

रामपुर, पाल्पा, ४ फागुन । मिनी फेवातालको नामले प्रख्यात पाल्पा रामपुरको तालपोखरामा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन गरिएको छ । फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको छ ।

स्थानीय कुलो, नहरको पानीबाट यहाँ दुईवटा डुंगा शुरु गरिएको हो । डुंगा सयर गर्ने र तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थितिले भोलिका दिनमा नियमित डुंगा सञ्चालन गर्न हालै मात्रै कालीगण्डकीको पानी लिफ्टिङ गरिएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउनुुहुन्छ ।

रु दुई लाख १७ हजार ५४० को लागतमा तालपोखरा नजिकै रहेको कालीगण्डकीको पानी यस तालमा ल्याउन सफल भएको उहाँले बताउनुभयो । “हामीले सोचेभन्दा दोब्बर पर्यटकको आकर्षण बढेको पाइएपछि कुलो, नहरमा पानी कम भएका समयमा यहाँ नियमित डुंगा सञ्चालन गर्न समस्या पर्ने हुँदा कालीगण्डकीबाट लिफ्टिङ गरेर पानी ल्याएका हौँ”, उहाँले भन्नुभयो । अब यहाँ डुंगा सञ्चालनका लागि पानीको समस्या नपर्ने उहाँको भनाइ छ ।

बर्खायामको पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्कोस्वरुप तालका रुपमा परिणत गरिएपछि फेवातालको अनुभूति लिँदै डुंगा सयर गर्नेको दिनहुँ घुइँचो रहेको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताउनुभयो ।

हाल दैनिक दुई सयभन्दा बढीको हाराहारीमा डुंगा सयर गर्नेको संख्या रहेको देवकोटाले बताउनुभयो । समितिले तालपोखरामा डुंगा सयरका लागि रु २५ को टिकट दर कायम गरेको छ । तालपोखरा क्षेत्रलाई यहाँका केही स्थानीय युवाले पर्यटकीय क्षेत्रका रुपमा परिकल्पना गरी यसको विकास गर्दै जाँदा अहिले यो क्षेत्र पाल्पाको रामपुरकै पर्यटकीय क्षेत्रको गन्तव्यस्थल बन्न पुगेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*